२०८१ आश्विन ७

कक्षा १२ को वार्षिक परीक्षाका लागि केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०८० बैशाख २०, बुधबार ११:१३ गते

रुपन्देहीबाट २१हजार ९ सय १२जना परीक्षार्थीहरु सहभागी हुने

बुटवल २० बैशाख ।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय लुम्विनी प्रदेशले कक्षा १२ को वार्षिक परीक्षाका लागि केन्द्राध्यक्षहरुलाई परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधवार सम्पन्न गरेको छ । कक्षा १२ को वार्षिक परीक्षा यही बैशाख २६ बाट जेठ ५ सम्म संचालन हुने परीक्षाका लागि केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो ।


जिल्ला स्तरीय परीक्षा समन्वय समिति रुपन्देहीका अध्यक्ष रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रुपन्देही जिल्लाका परीक्षाहरु व्यवस्थित रुपमा संचालन भएकोमा खुशी व्यक्त गर्दै परीक्षा अनुगमनका नाममा अनावश्यक रुपमा अनाधिकृत अनुगमनलाई कम गर्दै जानु पर्ने बताए । उनले परीक्षाको समयमा अनलाइनबाट प्रश्नहरु छपाई गर्नु पर्ने हुँदा लोडसेडिङले समस्या आउनसक्ने हुँदा नेपाल विद्युत प्राधिकरणसंग समन्वय गर्ने धारणा व्यक्त गरे ।
राष्ट्रिय परीक्षा वोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले वार्षिक परीक्षालाई थप व्यवस्थित रुपमा संचालन गर्नका लागि परीक्षा पुर्वका कार्यहरु परीक्षा अवधिका कार्यहरु र परीक्षा पश्चातका कार्यहरु सलाइड मार्फत प्रस्तुत गरेका थिए।
अभिमुखीकरण कार्यक्रम जिल्ला स्तरीय परीक्षा समन्वय समितिका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भारतमणि पाण्डेको अध्यक्षतामा राष्ट्रिय परीक्षा वोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य कार्यालयका शाखा अधिकृत कमल अर्यालले गरेका थिए ।

रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयहरु गरी ६३ वटा परीक्षा केन्द्र कायम गरिएको छ । कार्यक्रममा केन्द्राध्यक्षहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।
रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयहरु गरी ६३ वटा परीक्षा केन्द्र कायम गरिएकोमा केन्द्राध्यक्षको तर्फबाट कालिका मानवज्ञान मा. वि.का प्रधानध्यापक दिनेश थापाले वार्षिक परीक्षा विहान ७ बजेबाट संचालन गरेमा अन्य कक्षाका विद्यार्थीहरुका पठनपाठनमा असर नगर्ने हुँदा उक्त विषयमा ध्यानाकर्षण गराउदै साधनस्रोत कमजोर भएका विद्यालयहरुलाई अनलाइनबाट प्रश्नहरु व्यवस्थापन गर्न असहज हुने हुँदा एसइईको मोडलमा प्रश्नपत्रहरु व्यवस्थापन गर्न सुझाव दिए ।
बैशाख २६ बाट जेठ ५ सम्म संचालन हुने वार्षिक परीक्षामा १ हजार ४ सय ५३ परीक्षा केन्द्रबाट ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थीहरु परीक्षामा सहभागी हुने छन् । रुपन्देही जिल्लाबाट २१हजार ९ सय १२जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने भएका छन् ।
अभिमुखीकरणमा जिल्ला परीक्षा समन्वय समितिका सदस्यहरु राष्ट्रिय अनुसन्धानका उपनिर्देशक, शसस्त्र प्रहरी बलका शसस्त्र प्रहरी नायब उपरीक्षक, शिक्षा विकास तथा समन्वय इकाई, राष्ट्रिय परीक्षा वोर्डका प्रतिनिधिहरु, ६३ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरु रहेको नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक  बस्नेतले बताए ।