२०८२ माघ १९

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
  • लुम्बिनी खोज
  • २०८० बैशाख २७, बुधबार ०८:३२ गते
खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ
बुटवल,२७ बैशाख ।

नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मैजुबहालस्थित खाण निवासबाट उनलाई पक्रेको विशेष स्रोतले जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण र उनकी श्रीमती मञ्जु खाणको नाम पनि मुछिएको छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । खाणसँगै उनलाई बुधबार बिहान जडीबुटीबाट पक्राउ गरिएको हो ।

सचिव टेकनारायण पाण्डेको बयानपछि खाणलाई पक्रेको हो । खाण गृहमन्त्री हुँदा पाण्डे गृहसचिव थिए ।

यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।