२०८२ माघ २८

बुटवलको ब्यापार मेला सकियो
  • लुम्बिनी खोज
  • २०७८ पुष २०, मंगलवार १५:४३ गते

वुटबल २० पुस ।
‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नाराका साथ बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला ३० करोड कारोबार गर्दै मंगलबार समापन भएको छ ।
पुस ८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको मेला अवधिभर ८ लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएका छन् ।
समापन समारोहमा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै ब्यापार घाटा न्यूनिकरणमा विशेष योजना र नीति बनाउनुपर्ने धारणा राखे ।
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले पराधीन अर्थतन्त्रलाई स्वाधीन र आत्मनिर्भर बनाउन राष्ट्रिय पुंजीमार्फत औद्योगिकरण र ब्यापार विविधिकरणमा सरकार र निजी क्षेत्रको ध्यान जानुपर्ने बताए ।
नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, नेकपा माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जीसीलगायतले ब्यापार मेलाका बारेमा चर्चा गरेका थिए ।
समापन समारोहमा आयोजक उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरे,उद्योग उपाध्यक्ष विष्णु पाण्डे,वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी, संघका महासचिव पदम जीसीले सबैको सहयोग, सुझावबाट मेला सोंचे भन्दा उत्कृष्ट र सफल भएको बताए । मेलामा स्वदेशी र विदेशी उत्पादनका ४ सय ७० स्टल रहेका थिए । मेला समापनका अवसरमा मेलाका उपसमिति संयोजकहरु, उत्कृष्ट स्टल, सहयोगी संघ संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।