२०८१ पुष १२
काठमाडौँ २ पुस ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा समाजवादी मोर्चा नेपालले आपत्ति प्रकट गरेको छ । मोर्चाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भएको तीन बुँदे सम्झौता कार्यान्वय गर्न सरकारसँग आग्रह गरेको छ । जिल्ला अदालत काठमाडौंले १० मंसिरमा नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेता कार्यकर्ता विरुद्ध ३५ दिनभित्र हाजिर हुन सूचना जारी गरेको थियो ।
अदालतबाट जारी भएको पक्राउ पुर्जीको विरोध गर्दैै समाजवादी मोर्चाले सोमबार विज्ञप्तिमार्फत नेकपासँग भएको तीन बुँदै सम्झौता कार्यान्वय गर्न आग्रह गरेको हो ।
मोर्चाका संयोजक माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै यस विषयमा मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । पक्राउ पुर्जी भएको शीर्ष नेताहरू विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ ।
अदालतले जारी गरेको पुर्जीमा ३५ दिनभित्र आफूसँगको सबुद प्रमाणसहित उपस्थित नभए कानुन बमोजिम हुने भनिएको छ । पछि त्यसको उजुरबाजुर नलाग्ने समेत अदालतले जारी गरेको पुर्जीमा उल्लेख गरिएको छ ।
अध्यक्ष नेपालले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरेका छन् । उनले भनेका छन्, ‘केही दिन अघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सी र प्रवक्ता कमरेड प्रकाण्ड सी लगायतका नेता विरुद्ध काठमाडौँ जिल्ला अदालतले जारी गरेको आदेश प्रति समाजवादी मोर्चा नेपालको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ। मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौँ ।’