२०८२ माघ २८
बुटवल ७ फागुन । राजनीतिक व्यक्तित्व एवम् अग्रज पत्रकार मदनलाल पौड्यालद्धारा लिखित आत्मकथा ‘मृत्युले मुसारेको मानिस’ पुस्तक माथि शनिवार रुपन्देहीमा अन्तरक्रिया गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालसँग लामो समय सहकार्य गर्ने अवसर पाएका रुपन्देहीका पौड्यालको पुस्तकमाथि समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका साहित्यकारहरु देखि लिएर विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको जमघट रहेको थियो । राजनीति तथा पत्रकारिता क्षेत्रमा लामो समय विताएका पौड्यालको संघर्षको इतिहास पुस्तकमा समेटिएको छ ।


मुलुकको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पौड्यालले कम्युनिष्ट आन्दोलनमा होमिदा र आन्दोलनका क्रममा भोगेका विषयहरु समेत समावेस गरेका छन । आफ्ना कुरा सधै स्पष्ट रुपमा राख्ने लेखकले पुस्तकमा समेत सोही अनुरुप नै घट्ना क्रमहरु राखेको अन्तरक्रियामा सहभागि साहित्य क्षेत्रका ब्यक्तित्वहरुले बताए । पुस्तकमा राजनीतिक इतिहास, भौगोलिकता देखि सामाजिक परिवेशका कुराहरु समेटेको भन्दै साहित्यमा रुचि राख्नेहरुका अतिरिक्त राजनीतिज्ञ तथा अन्य क्षेत्रकाका लागि समेत पठनीय रहेको बक्ताहरुले बताएका थिए ।
कार्यक्रममा जंगवहादुर शाह, गिरि श्रीस मगर, रामचन्द्र श्रेष्ठ, देवी पाण्डे, डाक्टर राजेन्द्र खनाल, लक्ष्मण ज्ञवाली, वनमाली निराकार, बालकृष्ण भट्टराई, इन्द्रिरा अर्याल, दीपक विश्वकर्मा, अर्जुन ज्ञवाली, ऋषिराम भुसाल, एकराज पाण्डे, भुवन अर्याललगायतले पुस्तकका बारेमा तथा लेखकका बारेमा चर्चा गरेका थिए । सो अवसरमा लेखक पौडेलले पुस्तक लेख्दाका अनुभवहरु राखेका थिए ।
पुस्तकको केही साता अगाडी काठमाण्डौंमा विमोचन गरिएको थियो । विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् पूर्वमन्त्री मोदनाथ प्रश्रीत , समीक्षक वसन्त लोहनी, विवेक सिर्जनशील प्रकाशनका प्रबन्ध संचालक विजयराज आचार्य, लेखक मदनलाल पौड्याल, उनकी जीवनसंगीनी दुर्गा पौड्याल, पूर्व मुख्य सचिव लीलामणि पौड्याल, पुस्तकका सम्पादक राजकुमार बानियाँ, बालसाहित्यकार मन्जु ज्ञवालीलगायतले पुस्तकका बारेमा चर्चा गरेका थिए ।