२०८२ माघ २८

शाइन आर्थिक पत्रकारिता पुरस्कार भुसाललाई
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन ११, बुधबार १३:५१ गते

बुटवल, ११ फागुन । शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०७८ पत्रकार यमलाल भुसाललाई प्रदान गरिएको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय बुटवलमा बुधबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष थानेश्वर पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले भुसाललाई संयुक्तरुपमा पुरस्कार प्रदान गरेका हुन् । २८ वर्षदेखि पत्रकारितामा निरन्तर क्रियाशील भुसाल राज्य टेलिभिजन बुटवलका समाचार प्रमुख हुन् ।
यसैबीच बैंकले शाइन आर्थिक पत्रकारिता पुरस्कारका लागि पांच लाख रुपैयांको अक्षयकोष स्थापना गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा बैंकले यसअघि ३ लाख रुपैयाको अक्षयकोषमा २ लाख थप गरेर ५ लाख बनाएको हो । उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई कम्तीमा ५१ हजार रुपैयां राशीको शाइन आर्थिक पत्रकारिता पुरस्कार वितरण गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।
सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले रुपन्देहीमा यो नै सबैभन्दा ठूला नगद राशीको पत्रकारिता पुरस्कार भएको उल्लेख गर्दै बैंकले सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उल्लेख्य काम गरेको बताए ।
वार्षिकोत्सवका अवसरमा बैंकले आईटी विभागका प्रितेश सिंहलाई शाइन इन्नोभेसन अवार्ड, शंकरनगर शाखालाई शहरी क्षेत्रको उत्कृष्ट शाखा र प्युठानको भिङग्री शाखालाई ग्रामीण क्षेत्रको उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरेको छ ।