२०८१ श्रावण १२

लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउने गठबन्धनको सहमति
  • लुम्बिनी खोज
  • २०८० चैत्र २२, बिहीबार १६:४३ गते

बुटवल,२२चैत ।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्ष दल सहमत भएका छन्।

एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँचबुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन्।

लुम्बिनीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने केन्द्रको सहमतिअनुसार प्रदेश सरकार निर्माणका लागि कसरत भइरहेको छ।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ। लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुखबाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एकजना र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्।

माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा दलका नेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका  भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँचबुँदे समझदारीसमेत बनेको हो।

सहमतिअनुसार राजनीतिक नियुक्तिहरू सरकारमा सहभागी सबै दलहरूको अपनत्व हुने गरी गर्नुपर्ने, प्रदेशका गौरवका योजनाहरू, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्व विद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन निर्माण गर्दा साझा प्राथमिकताका रूपमा कार्यान्वयन गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायतमा सबै दलहरूको अपनत्व हुने गरी गर्ने सहमति भएको हो।