२०८१ श्रावण १२

सुप्रिम सहकारी पिडितहरुको बुटवलमा प्रर्दशन
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ४, मंगलवार १०:०९ गते

बुटवल,४ वैशाख ।
सुप्रिम सहकारीका बचतकर्ताहरुले मंगलबार बुटवलमा प्रदर्शन गरेका छन । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकसम्म पुगेर कोणसभामा परिणत भएको थियो । सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु ९जीबी० राई सहितका व्यक्तिहरुलाई पक्राउ गर्न माग गर्दै सुप्रिम सहकारीका बचतकर्ताहरुले बुटवलमा प्रदर्शन गरेका हुन ।
प्रदर्शनमा सहभागीहरुले जीबी राई पक्राउ गर’, ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीबी राई खोई ? भन्देऊ न रबी दाइ’,‘जीबी राई काहँ छ ? रबी दाईलाई थाहा छ’, ‘गृहमन्त्री आफ्नो वचन पूरा गर, ‘बचत रकम फिर्ता देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले प्रतिपक्षमा हुँदा गृहमन्त्री लामिछानेले आरोप लागेका व्यक्तिमाथि संसदीय छानवीन समिति बनाएर अनुसन्धान गर्नुपर्ने भनाई राखेको तर अहिले किन तयार नभएको भन्दै प्रश्न उठाए ।
अर्का बचतकर्ता कृष्णप्रसाद खरेले सत्ताको आडमा सहकारी ठगहरुलाई बचाउने खेल भएको हुनसक्ने आरोप लगाए ।
अर्का सहकारी पीडित देवीलाल भट्टराईले जीबी राईलाई छिटो पक्राउ नगरे तथ्य प्रमाणहरु नष्ट हुनसक्ने भएकाले राईको सुरक्षा र पक्राउलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए ।
सहकारीमा १० हजार बढी बचतकर्ताको १ अर्ब ३१ करोड बचत हिनामिना भएको भन्दै गत चैत १ मा प्रहरीमा जाहेरी परेको थियो । १ हजार ८ सय २८ जनाले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
सुप्रिमको रकम हिनामिना प्रकरणमा सहकारी अध्यक्ष ओमप्रकाश गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं उक्त सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने र नीता थापा मगर पक्राउ परेका छन ।
पक्राउ परेका ५ जनाबाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको प्रहरीले जनाएको छ । प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम फिर्ता गराउन माग गरिएको छ ।