२०८१ श्रावण १२

तिलोत्तमामा पूर्णखोप सुनिश्चितता घोषणा सार्वजनिक
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन १६, सोमबार १६:५४ गते

बुटवल,१६ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि तिलोत्तमालाई मुलुककैं पहिलो कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
आइतबार गरिएको घोषणालाई सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक एकराज विश्वकर्माले सार्वजनिक गरेका हुन । नेपाल सरकारले ल्याएको पूर्णखोपको अवधारणाअनुसार तिलोत्तमालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ ।
त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमुख विश्वकर्माले तिलोत्तमाले नगरलाई पूर्णखोप घोषणा गरेर नगरबासीको स्वास्थ्यप्रति जिम्मेवार बनेको बताए । तिलोत्तमाले सरसफाई, शिक्षा, स्वास्थ्यमा दिएको प्राथमिकता अन्य पालिकाका लागि सिकाइ बनेको बताउँदै घोषणालाई दिगो बनाइनुपर्नेमा जोड दिए । यस्तै स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले तिलोत्तमा कार्यविधिअनुसार काम गरेर मुलुकमैं पहिलो कोरोना विरुद्धको खोप सुनिश्चितता भएको पालिका बन्न सफल बनेको बताए । उनले अब बुष्टर डोजलाई पनि यसैगरी अघि बढाउनुपर्ने बताए ।
नगर प्रमुख बासुदेव घिमिरेले खोप अभियानमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै खोपको दिगोपनको लागि नगरपालिकाले योजनाबद्ध रुपमा काम गर्ने बताए । त्यसअवसरमा जिल्ला खोप समन्वय समितिले नगरपालिकालाई पूर्णखोप भएको प्रमाणपत्र प्रदान गरेको थियो ।
कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष तामानाथ पाण्डेय, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल शिक्षक महासंघ तिलोत्तमा अध्यक्ष खेमराज पाण्डेय, नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेल, स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेललगायतले बोलेका थिए । कार्यक्रम नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको स्वागत तथा प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको हो ।
तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका १ लाख २८ हजार ५३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना रहेका छन् । लक्षित जनसंख्या ९५ हजार ९६६ रहेकोमा तिलोत्तमामा लक्षितभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
नगरपालिकाभन्दा बाहिरका व्यक्तिहरुले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएकोले लक्ष्यभन्दा बढी प्रगति हासिल भएको स्वास्थ्य शाखाले जनाएको छ । परिवार सर्वेक्षण गरेर छुटेका ७ हजार ७७ जनालाई खोप लगाइएसँगै तिलोत्तमा कोरोना विरुद्धको खोप सुनिश्चितता भएको पहिलो पालिका बनेको हो ।
खोप लगाउन बाँकी रहेका व्यक्ति पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो । टोलीले पहिचान गरेका व्यक्तिहरुलाई खोप लगाएपछि आइतबार जिल्ला खोप समन्वय समितिले समेत अनुगमन गरेर तिलोत्तमालाई पूर्णखोप सुनिश्चित पालिका ठहर गरेको स्वास्थ्य शाखाले जनाएको छ । नेपालमा हालसम्म १२ वर्षमाथिका व्यक्तिलाई मात्र कोरोना विरुद्धको खोप लगाइएको छ । तिलोत्तमा नगरपालिकामा हालसम्म कोरोनाबाट ८ हजार ८३८ जना संक्रमित भएका छन् । कोरोनाबाट २०१ जनाको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकामा २०७७ माघ १४ बाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो । तिलोत्तमा नगरपालिकाले कोरोना महामारीबाट नगरबासीलाई बचाउन ६० बेडको अस्थायी कोरोना अस्पताल स्थापना गरेको छ ।