२०८१ श्रावण १२

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २१, शुक्रबार १०:२० गते

लुम्बिनी ।

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ । यही वैशाख २२ र २३ गते लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा गोष्ठी आयोजना गरिएको हो ।
विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको बौद्ध अध्ययन संकायका डीन डा.माणिकरत्न शाक्यले जानकारी दिए ।
अहिले विश्वभरका मानिसहरु वातावरणीय संकट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक रोगजस्ता विभिन्न प्रकारका समस्याहरुबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट विशेषगरी बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको डीन शाक्यले बताए ।
बुद्ध जन्मस्थलमा आयोजित गोष्ठिमा नेपालसहित श्रीलंका, थाइल्याण्ड, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, पोर्चुगल, फान्स लगायतका देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
गोष्ठिमा बौद्ध शिक्षाको महत्व, लुम्बिनी सहितका बौद्ध स्थलहरुको संरक्षण र विकास तथा बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सम्बन्धमा छलफल र बहस हुनेछ । गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा प्यानल छलफल समेत आयोजना गरिएको छ ।
गोष्ठीमा समकालीन विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाका कुन रूपहरू आवश्यक छन, यस्तो शिक्षा फैलाउन लुम्बिनी बौद्ध विश्वविद्यालयले कसरी योगदान गर्नसक्छ र संसारभरका मानिसहरूले कस्ता प्रकारका पाठ्यक्रमहरू अपेक्षा गर्छन भन्ने विषयमा छलफल हुने छ ।
गोष्ठीले वर्तमान विश्वव्यापी परिप्रेक्ष्यमा महत्वपूर्ण लागू हुने आवश्यक बौद्ध शिक्षा पाठ्यक्रमहरूको पहिचान र छलफल गर्ने उद्देश्य राखेको छ । गोष्ठीले बौद्ध शिक्षाको महत्वमा केन्द्रीत भएर लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक कार्यक्रमहरूको बारेमा जानकारी दिन र मानवले सामना गरिरहेका जटिल समस्याहरूलाई सम्बोधन गर्न योगदान पु¥याउने विश्वास गरिएको छ ।