२०८१ श्रावण १२

विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ७, सोमबार ०८:०१ गते

काठमाडौँ ७ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षीको नाराबाजीबीच चौथो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले संसदमा कांग्रेसको अवरोधका बीचमा विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत पाए । सभामुख देवराज घिमिरले सोमबारको बैठकमा १५८ सांसद उपस्थित रहेको जानकारी दिए ।संविधानको धारा एक सयको उपधारा दुई बमोजिम विश्वासको मत लिन प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ ।
जनता समाजवादी पार्टी, नेपालले वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यसअघि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिएका थिए । तेस्रो पटक विश्वासको मत लिँदा उनको पक्षमा १५७ सांसद थिए ।
२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि प्रचण्ड नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो । एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै प्रचण्डले पहिलो पटक प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए । त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेको कांग्रेससमेतले प्रचण्डलाई विश्वासको मत दिएको थियो ।