२०८१ श्रावण १२

लुम्बिनीमा मन्त्रिमण्डल १२ सदस्यीय, कृष्णा केसी मन्त्री नियुक्त
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २१, सोमबार १४:३३ गते

बुटवल २१ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चौथोपटक मन्त्रिमण्डल विस्तार गरेका छन्। मन्त्रिमण्डल विस्तार सगै १२ सदस्यीय पुगेको छ । मुख्यमन्त्री महराले सोमबार कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त गरेका छन्।
नवनियुक्त मन्त्री केसीलाई सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। केसी माओवादी केन्द्रबाट निर्वाचन सांसद हुन्।
उनी दोस्रोपटक बाँकेबाट सांसद निर्वाचित भएकी हुन्। केसी मन्त्री नियुक्त भएसँगै लुम्बिनीको मन्त्रिमण्डल १२ सदस्यीय भएको छ। यसअघि एमालेका पाँच, माओवादी केन्द्रका मुख्यमन्त्रीसहित दुई, नागरिक उन्मुक्ति पार्टीक एक, जसपा नेपालका एक, एकीकृत समाजवादीका एक र स्वतन्त्रबाट निर्वाचित एक मन्त्री नियुक्त भइसकेका छन्।
एमालेका चेतनारायण आचार्य आर्थिक मामिला, माओवादी केन्द्रका दीपेन्द्र पुन स्वास्थ्य , जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था, एमालेका भूमिश्वर ढकाल सहरी विकास तथा खानेपानी , दिनेश पन्थी आन्तरिक मामिला तथा कानुन, अर्जुनकुमार केसी वन तथा वातावरण, रत्नबहादुर खत्री सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा छन्।
यस्तै, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास तथा यातायात, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र स्वतन्त्रका खड्ग बस्नेतलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रीको जिम्मेवारीमा छन् ।