२०८२ माघ २८
खाद्यान्न उद्योगमा देखिएका समस्याबारे अन्तरक्रिया
बुटवल, २४ फागुन ।
रुपन्देही उद्योग संघले खाद्यान्न उद्योगमा देखिएका समस्या र उद्योगीहरुले भोगेको अप्ठ्याराहरुका बारेमा उद्योगीहरुसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा उद्योगीहरुले चामल, तेल दाल लगायतका खाद्यान्न उद्योगहरुमा देखिएको वजारको समस्या, कच्चापदार्थमा भएको चर्को मुल्यबृद्धि तथा विभिन्न भन्सार तथा करमा उद्योग विरोधी प्रावधानहरु रहेको भन्दै ती समाधानका लागि पहल गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले उत्पादनमूलक उद्योगहरुले प्रोत्साहन नपाउँने अवस्था रहदासम्म उद्योगहरु विस्थापित हुने र आयातमुखी व्यापार बढ्दै जाने हुदा स्वदेशी उद्योगको संरक्षणमा गम्भिर बन्न आग्रह गरे । संघका पूर्व अध्यक्ष तेजकुमार पाठकले कच्चा पदार्थ तथा कृषि उत्पादनमा भएको मूल्यबृद्धि र विद्यमान कतिपय सरकारी नितिका कारण नेपालका खाद्यन्न उत्पादन गर्ने उद्योग निकै मारमा परेको र त्यसको प्रत्यक्ष असर एवं चपेटामा उपभोक्ताहरु पनि पर्नु परेको बताए ।
संघका सल्लाहाकार भुपालकुमार श्रेष्ठले इमानदार भएर उद्योग सञ्चालन गर्दा पनि विभिन्न कोणबाट समस्याहरु झेल्नु परेकोमा चिन्ता व्यक्त गर्दै देखिएका समस्याहरुको समाधानका लागि उद्योगीको संगठनलाई बलियो बनाएर आवाज उठाउनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा उद्योगी देवानन्द पाण्डेले हालको विषम परिश्थितिबाट खाद्य उद्योगीहरु निकै नै प्रताडित हुनु परेको बताउदै कच्चापदार्थको अत्याधिक महगीले वजार अस्तव्यस्त बन्न पुगेको गुनासो गरे । खाद्यान्न वस्तुगत समितिका संयोजक रमेश आचार्यले बढ्दो मुल्यबृद्धिले उद्योग बन्द गर्नु पर्ने अवस्था सिर्जना हुनुकासाथै वजारमा कालोवजारी, विचौलियको विगविगी तथा उत्पादन लागत बढेको बताए ।
उद्योगी कन्हैयालाल कसौधनले वजारको मुल्यबृद्धि र उद्योगहरुको समस्याका बारेमा राज्य चनाखो हुनु पर्ने अवस्था आएको बताए ।
कार्यक्रममा निर्वतमान अध्यक्ष बाबुराम वोहोरा, संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, महासचिव हरि बहादुर खत्री, कोषाध्यक्ष हिरामणी भट्टराई, कार्य समिति सदस्य लाल बहादुर थापा, कासस मोहनीलाल रिजाल, उद्योगी यादव गैरे, उद्योगी देवीराम पाण्डेलगायतले बोल्दै बजारमा देखापरेको अस्वभाविक गतिविधि, चर्को मुल्यबृद्धि तथा खाद्यान्नको अभावका बारेमा तत्काल अनुगमन गर्न र चर्को मुल्यबृद्धि नियन्त्रणका उपाय खोज्न आग्रह गरेका थिए । कार्यक्रममा बैंक तथा वित्तिय संस्थाहरुले अस्वभाविक रुपमा बृद्धि गरेको व्याजदरको पुनरावलोकन हुनु पर्नेमा सहभागिहरुको जोड थियो ।