२०८१ कार्तिक २

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ११, शुक्रबार ०८:४७ गते

काठमाडौ, ११ साउन ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले सरोकारवालासँग छलफल गरेर सोमबार बस्ने कार्यदलको सदस्य जनार्दन शर्माले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा संयन्त्रका सदस्यसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए । ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएका छौँ । यस विषयमा आगामी सोमबार सरोकार भएकासँग छलफल गर्नेछौँ । त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिम रूप दिने सहमति भएको छ,’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले पनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा आगामी सोमबार सरोकार भएकासँग सुझाव लिएर अन्तिम रूप दिने गरी आजको बैठक सकिएको जानकारी दिए । ‘हामी यो विषयलाई अन्तिम रूप दिँदै छौँ ।

अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने उनले उल्लेख गरे । संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी छन्।