२०८१ आश्विन ४

सेयर बजार पुनः बढेर २७ सय विन्दु नजिक
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १५, मंगलवार १०:५९ गते

काठमाडौ,१५ साउन ।

सोमबार करेक्सन देखिएको सेयर बजार मंगलबार पुनः बढेर २७ सय विन्दुनजिक पुगेको छ । आज नेप्से परिसूचक ३५.५५ अंकले बढेर दुई हजार ६ सय ९६.६५ विन्दुमा कायम  भएको हाे। सेन्सेटिभ इन्डेक्स ०.६७ प्रतिशत र फ्लोट इन्डेक्स १.१७ प्रतिशतले बढेको छ।

सोमबारको तुलनामा कारोबार रकममा गिरावट आए पनि आज १७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सोमबार कारोबार रकम झन्डै साढे १९ अर्बबराबर पुगेको थियो। मंगलबार ३२९ कम्पनीका चार करोड तीन लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा १७ अर्बभन्दा बढीको कारोबार भएको हो।

नेप्सेका १३ उपसमूहमध्ये बैंक, म्युचल फन्ड, निर्जीवन बिमा र व्यापार  उपसमूह एक प्रतिशतभन्दा कमले घट्दा बाँकी उपसमूह बढेका छन्। वित्त र होटेल तथा पर्यटन उपसमूहको सूचक करिब  ६ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी जलविद्युत् र लगानी समूह पनि तीन  प्रतिशतभन्दा धेरैले बढेका छन्।