२०८१ आश्विन ४

अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई दिने स्वास्थ्य मन्त्रालय र केन्द्रबीच सम्झौता
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ५, बुधबार १०:२७ गते

काठमाण्डौं ५ भदौ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने गरी सम्झौता भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकारमातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत–सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र आविष्कार केन्द्रका तर्फबाट अध्यक्ष डा. महावीर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सीमित स्रोत–साधनबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गर्न लागिएको बताए ।
केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्को महत्त्वपूर्ण जिम्मेवारी पाएको प्रतिक्रिया दिए ।