२०८१ आश्विन १

बुटवलमा अस्पताल भवनको शिलान्यास,विकास निर्माणमा निगरानी बढाउन अर्थमन्त्री पौडेलको आग्रह
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १५, शनिबार ०६:५३ गते

बुटवल १५ भदौ ।
उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले विकास निर्माणका काममा निगरानी बढाउन आग्रह गरेका छन् । बुटवल स्थीत लुम्बिनी प्रदेशिक अस्पतालमा भवनको शनिवार शिलान्यास गर्दै उनले कामको गुणस्तरमा विशेष ध्यान दिदै निगरानी बढाउन सबैमा आग्रह गरेका हुन् । धेरै वर्षपछि सम्मका लागि ध्यान दिएर बुटवलमा १२ सय शैयाको अस्पतालको विकासका लागि जुटेको पनि उनले बताए । प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा अगाडी बढाइएको अस्पतालको विकासका लागि अब बन्ने भवन महत्वपूर्ण रहेकाले सरोकारवालाहरुले विशेष ध्यान दिएर समयमै गुणस्तरीय कामका साथ सम्पन्न गर्नुपर्नेमा विशेष ध्यान दिनुपर्नेमा पौडेलले विशेष जोड दिए । त्यस्तै उनले भवन निर्माण सगसगै जनशक्ति तथा उपकरणको ब्यवस्थापनमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
रुपन्देहीको विकासका लागि बजेटको कमी हुन नदिने प्रतिवद्धता ब्यक्त गर्दै विकासको नमुनाका रुपमा हरेक क्षेत्रको विकासमा लागि पर्ने बताए । रुपन्देहीको विकास सग जोडिएका महत्वपूर्ण सडक आयोजना देखि सिद्धबाबा सुरुङ मार्गको कामका बारेमा चर्चा गर्दै उपप्रधानमन्त्री पौडेलले कामको गुणस्तरमा जोड दिएका हुन् । रुपन्देहीलाई देशकै नमुना जिल्ला बनाउन विभिन्न महत्वपूर्ण योजनाहरु अगाडी बढेको चर्चा गर्दै उनले थप के के गर्नुपर्छ भन्नेमा सुझाव दिन अनुरोध गर्नै विकास निर्माणका लागि राजनीति भन्दा माथि उठेर अगाडी बढ्ने बताए । यहाको विकासका लागि कामको वर्गिकरण गरेर सबै लागि पर्नुपर्नेमा जोड दिदै विकासमा नागरिक निगरानी बढाउनुपर्ने बताए ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पताल शिलान्यास समारोह लुम्बिनी प्रदेशको लागि खुसीको क्षण भएको भन्दै यो आयोजनालाइ उच्च प्राथमिकमा राखेर प्रदेश सरकारले चालु आर्थिक बर्षमा १ अर्ब ८० करोडको बजेट विनियोजन गरेको बताए ।
अस्पताललाई १२ सय शैयामा पु¥याइने
हाल दुई नयाँ भावनाहरु निर्माण गर्न थालिएको छ । जस अन्तर्गत पहिलो २ तहको बेसमेन्ट भएको सात सय शैयाको १० तले मुख्य भवन (२ तले अण्डरग्राउण्ड सहित १२ तले), दोश्रो १ तहको बेसमेन्ट र ४ तले १०० शैया क्षमताको क्यान्सर उपचार भवन निर्माण हुनेछ ।
नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ । हालको संरचना बाट विस्तार गरि एक हजार दुई सय शैयामा अस्पतालको स्तर उन्नति गर्न लागिएको छ ।
छ अर्ब १८ करोडको लागतमा निर्माण हुने अस्पताल भवन लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको छ ।
२०७६ सालमा तत्कालीन प्रदेश सरकारले यस अस्पताललाई ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउने प्रक्रिया थालेको थियो ।
अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो ।
सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिएका छन्।
भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको छ । कूल ७८५ वटा पाइलिङ गर्नु पर्नेमा ४९० पाइलिङ सम्पन्न भएको छ । वरीपरीका संरचनामा क्षति हुनबाट रोक्नका लागि १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जग खन्ने काम गरिने छ । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भैरहेको छ ।
अस्पतालको नयाँ बन्ने भवनको डीपीआर अनुसार अत्याधुनिक भवनमा बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ ।
वि.सं. १९६७ फागुन १५ गते ६ शैय्याबाट सुरू भएको यो अस्पताल लुम्बिनी क्षेत्रकै सबभन्दा पुरानो र ठूलो अस्पताल हो । सेन वंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीबाट दुई जना चिकित्सकबाट अस्पतालको सेवा सुरू गरिएको थियो । ३१ वर्ष बुटवल फूलबारीबाट सञ्चालन भएको अस्पताललाई १९९८ सालमा हाल रक्तसंचार गृह रहेको स्थानमा सारिएको थियो । हाल रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो ।
हाल दैनिक दुई हजारदेखि २ हजार ५ सयसम्म बिरामीहरू उपचारका लागि आउने गर्छन् ।