२०८१ मंसिर २१

सञ्चार माध्यमको संरक्षण र विकासका लागी सरकारले उपयुक्त निकास निकाल्छः मुख्यमन्त्री
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ७, सोमबार ११:४० गते

बुटवल ७ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार माध्यमको संरक्षण र विकासका लागी प्रदेश सरकारले उपयुक्त निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सञ्चार क्षेत्रमा देखिएका समस्या अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन २०८१ बुझ्दै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमको संरक्षण, विकास र सवलिकरणमा प्रदेश सरकारले नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा नेतृत्वमा कार्यदल गठन भएको थियो ।
यो कार्यदलले चालु आर्थिक बर्षमा प्रदेश सरकारले मिडिया क्षेत्रमा विनियोजन गरेको विभिन्न शिर्षकका बजेटहरुको अध्ययन गरेको थियो । बजेट निर्माण र कार्यान्वयनलाई एकद्धार प्रणालीबाट अघि बढाउनेगरी सुझाव सहितको प्रतिवेदन बुझाइएको हो । कार्यदलका संयोजक तथा सञ्चार समन्वय परिषदका अध्यक्ष यमबहादुर गाहा सहित कार्यदलका सदस्यहरुले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् । कार्यदलले प्रतिवेदन बुझाउनु अघि मुख्यमन्त्री आचार्य सहित प्रमुख सचिव महादेव पन्थ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कँडेल संग छलफल गरेको थियो ।
प्रतिवेदन बुझाउदै सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहाले सञ्चार व्यवस्थापनलाई बलियो बनाउन प्रदेश सरकारले ध्यान दिनुपर्ने, एकद्वार प्रणालीबाट बजेट विनियोजन गर्ने, कार्यान्वयन गर्ने परिपाटीको विकास गर्न आग्रह गरे ।
प्रतिवेदन बुझाउने कार्यक्रममा सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा, सदस्य नवराज कुँवर, नरेश केसी, बालकृष्ण चापागाई, भरत केसी, दिनेश पाण्डे, गौतम भुसाल, दिपक घिमिरे, प्रदिप आचार्य, टिका बस्नेत, राजु खराल, चिन्ता परियार लगायत पत्रकाहरु सहभागी थिए ।