२०८१ आश्विन २८
गतवर्षको सोही अवधिको तुलनामा तेस्रो मुलुकको पर्यटक ११२ प्रतिशतले वृद्धि तर
९३ देशका पर्यटकमा भारतका १ लाख ७१ हजार ६ सय ५१, तेस्रो मुलुकका ५९ हजार ६ सय ६१, नेपालका ३ लाख ८१ हजार १ सय ६५
तेस्रो मुलुक ९२ देश सम्मका पर्यटक आउदा श्रीलंका, थाइल्याण्डपछि चीनका पर्यटक धेरै
लुम्बिनी ११ असोज ।
संसारभरका बौद्धधर्मावलम्बीहरूको आस्थाको थलो शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा आठ महिनामा ६ लाख १२ हजार ४७७ पर्यटक आएका छन्। सन् २०२४ को जनवरीदेखि अगस्टसम्म भारतका एक लाख ७१ हजार ६५१ पर्यटक लुम्बिनी आउँदा तेस्रो मुलुक ९९२ देश०का ५९ हजार ६६१ पर्यटक आएका छन्। लुम्बिनी विकास कोषका अनुसार तीन लाख ८१ हजार १६५ आन्तरिक पर्यटकले सो अवधिमा लुम्बिनी भ्रमण गरेका छन्।
त्यसमध्ये सबैभन्दा धेरै पर्यटक मे महिनामा आएका छन्। मेमा ८६ हजार ८६६ नेपाली, ४० हजार १० भारतीय र दुई हजार ९२७ तेस्रो मुलुकका गरी एक लाख २९ हजार ८०३ पर्यटक आएका हुन्। यसैगरी मार्चमा पनि एक लाखभन्दा बढी पर्यटक आएका छन्। मार्चमा नेपाली ६३ हजार ७८७, भारतीय ३० हजार ६७० र तेस्रो मुलुकका १८ हजार २६ गरी एक लाख १२ हजार ४८३ पर्यटक लुम्बिनी आएका तथ्यांक छ।
लुम्बिनीमा अप्रिल र फेब्रुवरीमा पनि अन्य महिनाका तुलनामा धेरै पर्यटक आएका छन्। अप्रिलमा ८९ हजार ५४९ र फेब्रुवरीमा ८५ हजार ६६७ पर्यटक आएका छन्।
श्रीलंका र थाइल्यान्डपछि चीनका पर्यटक धेरै
लुम्बिनीमा कुनै वर्ष ११६ वटा देशबाट पर्यटक आएका तथ्यांक छ। राहदानीवाहक अर्थात् भारतबाहेक अन्य मुलुकमध्ये यस आठ महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक श्रीलंकाबाट आएका छन्। दोस्रो नम्बरमा थाइल्यान्डका छन्। यस अवधिमा श्रीलंकाका १३ हजार ८९६ जना आउँदा थाइल्यान्डका १२ हजार ५३६ जना आएका छन्।
तेस्रो मुलुकमध्ये लुम्बिनीमा धेरै पर्यटक आउनेमा तेस्रो नम्बरमा चीन छ। यस अवधिमा चीनका ७ हजार ५७६ जना आएका छन्। पछिल्ला वर्षहरूमा चिनियाँहरु लुम्बिनीप्रति आकर्षित भएको देखिए पनि जनसंख्या तथा नजिकको छिमेकीका हिसाबले चिनियाँ पर्यटकको संख्या अझ धेरै बढाउनुपर्नेमा पर्यटन व्यवसायीहरूको जोड छ।
लुम्बिनीमा गत वर्षको सोही अवधि अर्थात् सन् २०२३ को जनवरीदेखि अगस्टसम्मको तुलनामा यस वर्षको जनवरीदेखि अगस्टसम्म पर्यटन आगमन बढ्दो छ। यस अवधिमा नेपाली पर्यटकको संख्या केही घट्दो भए पनि समग्रमा पर्यटकको चहलपहल बढ्दो छ। लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष ६ प्रतिशत बढी रहेको बताउँछन्। गत वर्ष नेपाली तीन लाख ९७ हजार ६४२ रहेकोमा यस वर्ष ४।१४ प्रतिशतले कम छन्। यस वर्ष आठ महिनामा तीन लाख ८१ हजार १६५ आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।
त्यस्तै, गत वर्ष आठ महिनामा एक लाख ५१ हजार भारतीय लुम्बिनी आएकोमा यस वर्षको सोही अवधिमा एक लाख ७१ हजार आएका छन्। यो १२ प्रतिशतभन्दा बढीको वृद्धि हो। यस अवधिमा तेस्रो मुलुकबाट ५९ हजार ६६१ पर्यटक आएका छन्। यो गत वर्षको तुलनामा ११२।९२ प्रतिशतले बढेको डा. राईले जानकारी दिए। गत वर्षको आठ महिनाको अवधिमा लुम्बिनीमा तेस्रो मुलुकका जम्मा २८ हजार पर्यटक आएका थिए।
आन्तरिक पर्यटक घट्नुको मुख्य कारण सडक
नेपाली पर्यटकको संख्यामा कमी आउनुमा मुख्य कारणका रूपमा बुटवल–नारायणगढ सडक रहेको छ। त्यस्तै, अन्य राजमार्गको अवस्थालाई पनि कारक मानिएको छ। निर्माणाधीन सडक अस्तव्यस्त हुनु तथा अन्य सडक पनि राम्रो नहुँदा यसपटक पर्यटक घटेको पर्यटन क्षेत्रका जानकारहरूको विश्लेषण छ। शिथिल अर्थतन्त्रको प्रभाव पनि पर्यटन क्षेत्रमा परेको छ। कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. राई सडकका कारण पूर्वका पर्यटक आवागमन कम भएको र अर्थतन्त्रमा पनि प्रभाव पारेको बताउँछन्।
तेस्रो मुलुकका पर्यटक बढ्दो
तेस्रो मुलुकका पर्यटक बढ्नुमा लुम्बिनीको प्रचार प्रसार अन्तराष्ट्रिय तहमा बढ्दै जानुलाई लिइएको छ । बुद्धको शान्तिको सन्देश संसार भर फैलाउन सके लुम्बिनी शान्तिप्रेमीहरुका लागि भ्रमण गर्ने उपयुक्त थलोका रुपमा विकसित हुने र त्यसलाई बढ्वा दिदा पर्यटन आगमनमा सकरात्मक प्रभाव पार्ने सरोकारवालाहरुको भनाइ रहेको छ । संविधानसभा सदस्य समेत रहेका डा. ल्हारक्याल लामा (खेन्पो छिमे) लुम्बिनी विकास कोषको उपाध्यक्ष बनेपछि अन्तराष्ट्रिय समुदायमा लुम्बिनीको बारेमा चर्चा गराउन थप सक्रियता बढाएको र इन्टरनेशनल वुद्धिष्ट कमिटीका अध्यक्ष समेत रहेका उनले धार्मिक गतिविधि बढाउनुका अतिरिक्त विभिन्न देशका राजदुतहरुको भ्रमण गराउन अग्रसरता देखाएका कारण पनि तेस्रो मुलुकका पर्यटक बढाउन मद्दत मिलेको बताइन्छ ।
पछिल्लो पटक अन्तराष्ट्रिय तहमा लुम्बिनीको प्रचारमा महत्वपूर्ण योगदान पुग्ने गरी गत कार्तिक १४ गते संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस भ्रमण गरेका थिए । त्यस यता चैत ८ र ९ गते विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका महावाणिज्यदूत र सरकारी अधिकारीहरू बुद्ध जन्मस्थल लुम्बिनीमा आएका थिए ।
आन्तरिक तथा बाह्य पर्यटक आक्रषण गर्न लुम्बिनीमा भौतिक संरचना निर्माणका अतिरिक्त धार्मिक गतिविधिलाई पनि बढी महत्व दिइएको छ । मोन्लम पुजा, भारत नेपाल साँस्कृतिक उत्सव, त्रिपिटक वाचन देखि विभिन्न धार्मिक गतिविधिले सकरात्मक प्रभाव पारेको बताइन्छ । मोन्लम पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी समेत रहेका हलिउड स्टार जेट्ली सहभागी थिए । यसले पनि विदेशी पर्यटक बढाउन मद्दत मिलेको देखिन्छ ।