२०८१ माघ २३

व्यापार संघको २५ औं वर्षगाठमा प्रधानमन्त्री ओली आउने
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ४, आईतवार ११:५४ गते

बुटवल, ४ कार्तिक ।
रुपन्देही व्यापार संघको २५ औं बार्षिकोत्सव कार्यक्रमको मुल समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा कार्तिक २८ गते आयोजना गर्ने मुल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली आउने तय भएको संघ अध्यक्ष दिपक प्रसाद अधिकारीले बताए । अध्यक्ष अधिकारीको नेतृत्वमा काठमाडौं गएको टोलीले प्रधानमन्त्रीलाई भेटगरि कार्यक्रमका लागि निम्ता गरेको थियो ।
टोलिले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई पनि भेट गरि निमन्त्राणा गरेको छ । अर्थमन्त्रीले पनि कार्यक्रममा सहभागी हुने बताएको अध्यक्ष अधिकारीले बताए ।

जिल्ला भित्र छरिएर रहेका व्यवसायहरुलाई संगठित गर्दै संघले आफ्ना नियमित कार्यक्रमहरु तथा निरन्तर व्यवसायिक गतिविधिहरु गर्दै आएको छ । संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा साप्ताहिक रुपमा रजत महोत्सव मनाउने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीसगको भेटमा अध्यक्ष अधिकारीले व्यापार संघको बारेमा एवं व्यापार व्यवसायमा देखिएका समस्या र नीजि क्षेत्रले सामना गर्नु परेका असहज अस्वाथका बारेमा जानकारी गराउर्दै सुधारका लागि चाल्नु पर्ने कदमका बारेमा कुरा राखेका थिए ।
टोलीमा अध्यक्ष अधिकारीसहित संघका सचिव मनहरी वस्याल, कार्यालय प्रमुख सरोज पोखरेल सहभागी थिए ।
संघले साताव्यापी रुपमा आगामी कार्तिक २२ गतेबाट विभिन्न कार्यक्रम गर्ने जनाएको छ । रजत महोत्सवको अन्तिम दिन मुल कार्यक्रमका रुपमा कार्तिक २८ गते प्रधानमन्त्री ओलीको प्रमुख आतित्यथामा विशेष कार्यक्रम गर्ने तयारी गरिएको छ । त्यस अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नै, स्मारिका विमोचन तथा स्तम्भ अनावरण गर्ने तयारी गरिएको छ ।


संघले साताव्यापी कार्यक्रम अन्तरगत कार्तिक २२ गते मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, कार्तिक २३ गते जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता, कार्तिक २४ गते संघसंस्था स्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता, कार्तिक २६ गते वृहत रक्तदान कार्यक्रम तथा मुटु र पाठेघर सम्बन्धी स्वास्थ्य शिविर, कार्तिक २७ गते अस्पतालमा विरामीलाई निशुल्क फलफूल वितरण तथा रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने सकारात्मक प्रभाव विषयक गोष्ठी गर्ने कार्यक्रम तय गरेको छ ।
अध्यक्ष अधिकारीले २५ औं वर्षलाई रजत महोत्वसका रुपमा साता व्यापी कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको भन्दैै रजत महोत्सवका कार्यक्रमहरुमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
रुपन्देही व्यापार संघ २०५७ साल कार्तिक २८ गते “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने मुल नाराका साथ व्यवसायीहरुमा परेका समस्याहरुको संबोधन गर्न र व्यवसायीहरुको एकतालाई बलियो बनाउने उद्देश्यले स्थापना भएको संस्थापकहरुले बताउने गरेका छन् ।