२०८२ कार्तिक २८

बुटवलमा कृषि मेला शुरु
  • लुम्बिनी खोज
  • २०७८ चैत्र १०, बिहीबार १७:४७ गते
बुटवल १० चैत ।
बुटवलमा बिहिवारबाट कृषि मेला–२०७८ शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गरिएको कृषि मेलाको लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका छन ।
‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कृषि मेलाको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले कालिगण्डकी–तिनाउ डाईभर्सनमा जोड दिएका थिए । उनले यस क्षेत्रमा कृषि उत्पादन बढाउन कालिगण्डकी–तिनाउ डाईभर्सनले सहयोग पुग्ने बताएका थिए । कृषि उत्पादन बढाउनुपर्नेमा जोड पनि दिएका थिए । त्यसको लागि कृषिमा आकर्षण गर्नुपर्ने भनाई उनले राखे । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषि क्षेत्रको विकासमा योगदान पुर्याउन विशिष्टिकृत कृषि मेला आयोजना गरिएको बताए । उनले कृषिमा आधुनिकिकरण र व्यवसायिक विकासको लागि संघले पहिलेदेखि नै पहल र पैरवी गर्दै आएको भनाई राखे । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा कृषि उद्यम केन्द्रका अध्यक्ष अरुणराज सुमार्गीले कृषिको विकासको लागि नीतिगत व्यवस्था, वैज्ञानिक व्यवसायिकिकरण आवश्यक रहेको भनाई राखे । कार्यक्रममा काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मराज सर्वज्ञ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव विमलराज भट्टराईलगायतले कृषि मेलाका बारेमा चर्चा गरेका थिए ।
संघले २०६२ सालदेखि निरन्तर कृषि मेला गर्दै आएको छ । यो दशौं संस्करणको कृषि मेला हो । पाँच दिनसम्म सञ्चालन गरिने मेलामा कृषिमा अत्याधुनिक प्रविधि (जस्तै ः– धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइड्रोपोनिक्स, मौरी पालन, जैबिक मल आदी) को प्रदर्शनी गरिने छ । त्यस्तै कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशन गरिने छ । कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवद्र्धन गरिने छ । यसले स्थानीय कृषि वस्तुको प्रवद्र्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मेलामा कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल, उत्कृष्ट कृषि उत्पादनको प्रद्र्धशन, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल समावेश गरिने छ । त्यस्तै दुग्धपान प्रतियोगिता, कालिज पालन सम्बन्धि जानकारी तथा परामर्श, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी, कृषिमा आधारित सांस्कृतिक कार्यक्रम गरिने छ । कृषिमेलामा अधिकतम ५० स्टल रहेन छन् । मेलामा २५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले बताएका छन ।