२०८१ कार्तिक २३

राजस्वको टोली र सुरक्षाकर्मीमाथि ढुंगामुढा, दुईजना घाइते, दुई सवारीसाधनमा क्षती
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक २३, शुक्रबार ०८:५४ गते

बुटवल २३ कात्तिक ।
रुपन्देहीमा तस्करीको सामान बरामद गर्न गएको राजस्व अनुसन्धान र सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीमाथि ढुंगामुढा प्रहार हुदा केही घाइते भएका छन् भने दुईवटा सवारीसाधनमा क्षति पुगेको छ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार तस्करी गरिएको सामान लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्न गएको टोलीमाथि आक्रमण भएको हो।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– २ मुझाना गाउँमा राजस्व छली चिनी गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्न टोली खटिएको थियो। राजस्व अनुसन्धान कार्यालय बुटवलबाट अनुसन्धान अधिकृत राजबहादुर विष्टसहित चारजना र सशस्त्र प्रहरी बल, नेपाल राजस्व प्रहरी एकाइ बुटवलबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको कमान्डमा १० जनाको संयुक्त टोली खटिएको थियो।
मुझाना बस्ने ३२ वर्षका दिलीप लोधको घरमा खानतलासी गर्दा भेटिएको ११२ बोरा चिनी राजस्व छलेको आशंकामा नियन्त्रणमा लिइएको थियो। बिहीबार साँझ ६ बजे सामान बरामद गरी फर्किने क्रममा १५० देखि २०० जना स्थानीयहरूले सडक अवरुद्ध गरेका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक दुर्गाबहादुर थापाका अनुसार झन्डै दुई सयजनाको समूहमा रहेका स्थानीयहरू मादक पदार्थ सेवन गरी बाटो अवरोध गरेर चिनी लुटपाट गर्न खोजेको र उनीहरूले सुरक्षाकर्मीको सवारी साधनमा ढुंगामुढा गरेको भन्ने खबर प्राप्त हुनसाथ तत्काल थप टोली खटिएको थियो।
उनका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेको संयुक्त समन्वय एवं सहकार्यमा सशस्त्रका एसपी थापा मगरसहितको ७० जनाको टोली तत्कालै परिचालित भएको थियो। सो टोलीले उक्त भिडलाई तितरबितर पारी बरामद चिनीसहित सवारीसाधनहरू राजस्व अनुसन्धान कार्यालय बुटवलमा पुऱ्याइएको थियो।
स्थानीयहरूको भिडले ढुंगामुढा गर्दा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लुम्बिनी रुपन्देहीको ना।१झ १४७७ नम्बरको गाडीको दायाँतर्फको झ्यालको दुईवटा सिसा पूर्ण रूपमा फुटेको छ। त्यस्तै सुरक्षाकर्मीको अर्को एक सवारीसाधनमा पनि क्षति पुगेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गणका सशस्त्र प्रहरी नायब निरीक्षक काशीप्रसाद चौधरीको दायाँ हात र सशस्त्र प्रहरी बल, नेपाल राजस्व प्रहरी एकाइ बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डेको समेत दायाँ हातमा सामान्य चोट लागेको सशस्त्रका डिएसपी थापाले बताए। चौधरी र पाण्डेलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी राति नै पठाइएको थियो।