२०८१ मंसिर ६
बुटवल, २७ कार्तिक ।
रुपन्देही व्यापार संघ भोलि बुधवारबाट २५ औं बर्षमा प्रवेश गर्दै छ । संघले २५ वर्ष प्रवेशका अवसरमा साता व्यापी रुपमा रजत महोत्सव आयोजना गरेको थियो । रजत महोत्सवको समापन बुधवार विशेष कार्यक्रमको आयोजना गरि गरिने संघले जनाएकोछ ।
बुटवल रामनगरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कार्यक्रममा संघले साता व्यापी रुपमा गरिएका प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, अग्रजहरुको सम्मान तथा स्मारिका विमोचन गरिने जनाइएको छ ।
रुपन्देही व्यापार संघ ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ व्यवसायीहरुको मात्र प्रतिनिधित्व गर्ने उद्देश्यले २०५७ साल कार्तिक २८ गते स्थापना भएको हो । २९ अगुवा व्यवसायीहरु भेला भई व्यापार संघको विजारोपण गरेका थिए । सो भेलाले मोतीराज ज्ञवालीको अध्यक्षतामा रूपन्देही व्यापार संघ स्थापना गर्दै कार्तिक २८ गते रूपन्देही जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता गरिएको हो ।
संघले २५ वर्षको यात्रामा ८ जना अगुवा व्यवसायीले संघको नेतृत्व गरेका थिए । संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली २०५७ देखि २०६२ सालसम्म तिन कार्यकाल अध्यक्ष भई नेतृत्व गरे । २०६२ सालमा भएको संघको तेस्रो अधिवेशनमा संस्थापक शंकर भट्टराई अध्यक्ष निर्वाचित भए । संघको चौथो, पाँचौ र छैठौं अधिवेशनबाट(२०६४ देखि ०७० सम्म) संस्थापक मध्येकै टंकप्रसाद पोखरेल अध्यक्ष बने ।
संघको २०७० मा भएको सातौं अधिवेशनबाट श्रीकृष्ण पोखरेल र आठौं अधिवेशनबाट मोतीलाल पाण्डे अध्यक्षता निर्वाचित भए । संघको नवौं अधिवेशनले पदमप्रसाद श्रेष्ठको अध्यक्षतामा चयन ग¥यो । उनले २०७४ देखि २०७६ सालसम्म रूपन्देही व्यापार संघको नेतृत्व गरे । संघको २०७६ सालमा भएको दसौं अधिवेशनले यमलाल लोहनीलाई चयन ग¥यो भने २०७८ सालमा भएको एघारौं अधिवेशनले कृष्णप्रसाद घिमिरेलाई अध्यक्ष चयतन गरेको थियो ।
संघको साताव्यापी कार्यक्रम अन्तरगत मंगलवार ३ वटा कार्यक्रमहरु आयोजना भएका छन् । संघले विहान प्रभात फेरी निकालेको थियो । संघको सचिवालयबाट पञ्चेवाजासहित निस्केको प्रभातफेरी हाटवजार लाइन, अमरपथ, अस्पताललाई, दुर्गामन्दीर, ट्राफिकचोक, संगमपथ, जेसीसचोक हुदै पुन संघको सचिवालयमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा बस्तुगत समितिको व्यानरमा व्यवसायीहरु सहभागी भएका थिए ।
संघले विहान नै लुम्बिनी प्रादेशीक अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरेको थियो । संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा सचिव मनहरी बस्याल, कार्यक्रम संयोजक टेकराज पन्थीलगायत बोलेका थिए । त्यस अवसरमा २ सय ५० जना विरामीलाई फलफुल वितरण गरिएको थियो ।
संघको सचिवालयमा दिउसो लुम्बिनी प्रदेश सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिएको छ । प्रदेशका कार्यवहाक मुख्यमन्त्री भुमिश्वर ढकालको प्रमुख आतित्यथामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले अवधारणापत्र प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष दिपक प्रसाद अधिकारीको अध्यक्षता तथा कार्यक्रम संयोजक मनहरि बस्यालको सञ्चालनमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य चिन्तामणी पाण्डे, बुटवल उपमहानगरपालिकाका पूर्व प्रमुख शिवराज सुवेदी, वर्तमान उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, उद्योग व्यापार संघका अध्यक्ष विष्णु पाण्डे, उपभोक्ता हित संरक्षण मञ्चको प्रदेश संयोजक तेजकुमार पाठक, संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली लगायतले धारणा राखेका थिए ।