२०८१ पुष ७
बुटवल १३ मंसीर
रुपन्देही उद्योग संघले ४७ औं स्थापना दिवसका अवसरमा बिहीबार अन्तर सदस्य मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । बुटवल ७ शिवनगरस्थित न्यू लुम्बिनी ब्याडमिन्टन क्लबको कभर्ड हलमा भएको प्रतियोगिता संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता तथा सचिव सुमन बस्यालको संचालनमा सम्पन्न भएको थियो । प्रतियोगिताका संयोजक रहेका कार्यसमिति सदस्य खेलकुद संयोजक बलबहादुर गोदार (बाल्दार)ले संघका सदस्यहरुबीच भावनात्मक सम्बन्ध बिस्तार गर्नका लागि यसखालको प्रतियोगिता गरिएको बताए ।
प्रतियोगितामा उद्योगी नरबहादुर श्रीस र घनश्याम पौडेलको जोडी प्रथम, दिलिप गौचन र बाबुराम पाठकको समूह द्धितीय, बोनिन पिया र जीवकान्त काफ्ले तथा बलबहादुर गोदार र नारायण खनालको समूह तृतीय भएको थियो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले संघले उद्योगीहरुबीच सम्बन्ध बिस्तारका लागि गरिने यस्ता खाले आन्तरिक प्रतियोगिताले सदस्यहरुबीच सकारात्मक सन्देश जाने बताए ।
संघका अध्यक्ष दिलिप सापकोटाले स्थापना दिवसको तीन दिने कार्यक्रमको पहिलो दिन ब्याडमिन्टन प्रतियोगिता गरिएको बताए । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । संघको आयोजनामा १४ गते बिहान संघको सचिवालयमा रक्तदान कार्यक्रम गरिने कार्यसमिति सदस्य एवं संयोजक राजु घिमिरेले बताए । १५ गते स्थापना दिवसको मुख्य दिन मूल समारोह गरिनेछ । १५ गते बिहान मूल समारोहको आयोजना गरिने र मूल समारोहमा प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहित विशिष्ट अतिथिहरुमा लुम्बिनी प्रदेशका उद्योग यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिएनआईका अध्यक्ष अध्यक्ष राजेश कुमार अग्रवाल, लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने संघले जनाएको छ ।
मूल समारोहमा अग्रज उद्यमी तथा विभिन्न क्षेत्रका उत्कृष्ट उद्योगीहरुको सम्मान, नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदान, छात्रवृत्ति वितरणका साथै उद्योग डाइरेक्टरी २०८१ विमोचन गरिने संघका महासचिव हिरामणीभट्टराईले जानकारी गराए ।