२०८१ पुष ८

बुटवल मेलामा टिकटक देखि भजन चुट्का सम्मका प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८१ मंसिर २१, शुक्रबार ११:५२ गते

बुटवल २१ मंसिर ।
बुटवलको मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने भएका छन् । मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अनुसार यहि पुसको ३ गतेदेखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा हुने मेलामा टिकटक देखि भजन चुट्का प्रतियोगिता सम्म गरिने भएको छ ।
१६ दिनसम्म सञ्चालन गरिने मेलामा लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता र टिकटक प्रतियोगिता गर्न लागिएको मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए । त्यसबाहेक मेला स्थलमा अन्य प्रतियोगिताहरु पनि हुने छन् ।
मेलामा लोक संस्कृतिसंग सम्बन्धित विषयमा ५ वटा विधामा प्रतियोगिता गराउन लागिएको छ भने मेलाको प्रचार प्रसारमा समेत टेवा पुग्नेगरी टिकटक प्रतियोगिता गर्न लागिएको छ । बुटवलमै पहिलो पटक हास्यव्यङ्ग्य प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने छ । मेला कार्यसम्पादन समितिका सहसंयोजक तथा सांस्कृति कार्यक्रम समन्वयकर्ता टंकप्रसाद गैरेका अनुसार लोक दोहोरी प्रतियोगितामा प्रथम हुने समुहलाई ७५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुने समुहलाई ५० हजार, तृतीय हुने समुहलाई २५ हजार र सान्त्वना हुने समुहलाई ११ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।
बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गर्ने मेलाको अर्को मुख्य आकर्षण हो ‘भ्वाईस अफ बुटवल’ । भ्वाईस अफ बुटवलमा प्रथम हुनेलाई पुरस्कार ५५ हजार रुपैंया, द्वितीय हुनेलाई ३० हजार रुपैंया र तृतीय हुनेलाई २० हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।
औद्योगिक व्यापार मेला बुटवल–२०८१ मा विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता पनि समावेश गरिएको छ । यो प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना स्थानमा आउनेलाई ३ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ ।
माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै भजन चुट्का प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ ।
यो मेलामा अर्को नयाँ विधामा टिकटक प्रतियोगिता गर्न लागिएको छ । मेलाको प्रचारप्रसारलाई समेत सहयोग हुनेगरी मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो । टिकटक प्रतियोगिता भने यहि मंसिरको २५ गतेदेखि सुरु हुनेछ । टिकटक प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने मेला सचिवालयले जनाएको छ । त्यस बाहेक मेलामा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । मेलामा लोक सांस्कृतिक, आधुनिक लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित सञ्चालन गर्न लागिएको मेलामा करिब ५ सय स्टल रहने आयोजकले बताएका छन् । जसमा १० वटा विषयगत पेभिलियन निर्माण गरिने छ । त्यस्तै कृषि पेभिलियनमा प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिईएको छ भने व्यूटि पेभिलियन तर्फ उपत्यका बाहिर पहिलो पटक व्यूटि एक्स्पोको तयारी गरिएको आयोजकको भनाइ छ ।