२०८१ पुष ७
देउखुरी २५ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा लगानी भित्र्याउन सक्रियता बढाएका छन् । कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानीकर्ताको खोजी गर्न मुख्यमन्त्री आचार्यले दातृ निकायहरुका प्रतिनिधिसंगको भेट र छलफललाई प्राथमिकतामा राखेका छन्। यहीक्रममा बेलायती दूतावासकी सहायक राजदुत तथा डेभलपमेन्ट निर्देशक पिप्पा बर्ड र अमेरिकी विकास नियोगका नेपाल प्रतिनिधि केटी डोनोहो सहितको एक प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यसंग सोमवार भेटवार्ता गरेको मुख्यमन्त्रीका स्वीकय सचिव कुशल भुसालले जानकारी दिए । प्रदेश सरकारले अघि बढाएका नीति तथा कार्यक्रमका आधारमा दातृ निकायका प्रतिनिधि तथा लगानीकर्ताहरुपनि लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर अघि बढेको पाइएको छ । सो क्रममा लुम्बिनी प्रदेशको प्राथमिकताका क्षेत्रको बारेमा समेत अन्तरक्रिया गरिएको थियो ।
मुख्यमन्त्री आचार्यले प्रदेशको समृद्धि र विकासलाई अघि बढाउन प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरुमा दातृ निकायहरुसंग सहकार्य गरेर अघि जान सकिने बताए ।‘प्रदेश आत्मनिर्भर हुने बाटोमा छ । अझैं आत्मनिर्भर भइनसकेको अवस्थामा दातृ निकायहरुको साथ सहयोगको आवश्यकता छ । प्रदेशको कृषि, उद्योग, पर्यटन, पूर्वाधार लगायतका क्षेत्र प्राथमिकता छन् । ति क्षेत्रमा संगै जान सकिन्छ’उनले भने,‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको संकल्प पुरा गर्न सबैसंग सहकार्य गरेर अघि बढ्न हामी तयार छौं ।’
लुम्बिनी प्रदेशले दोस्रो आवधिक योजनालाई अन्तिम अवस्थामा पु¥याएको, तथ्यांकको आधारमा योजना तथा नीति निर्माणको काम अघि बढेको, डाटा पोर्टल स्थापना गरेर त्यसलाई प्रयोगमा ल्याएको बारेमा भेटको क्रममा जानकारी दिएका थिए । सो अवसरमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लिराज अर्यालले प्रदेशको समृद्धि र विकास संग जोडिएका बिषयहरुको बारेमा प्रकाश पारेका थिए । प्रदेश सरकारले कृषि, पर्पटन, उद्योग र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर दोस्रो आवधिक योजना निर्माण गरिरहेको समेत जानकारी गराइएको थियो । सो भेट तथा अन्तरक्रियामा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तिमगर, प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिवलगायत सम्बद्ध पक्षहरुको सहभागिता थियो ।