२०८१ पुष ७
ढुक्क भएर लगानी गर्न मन्त्री खड्काको आग्रह
बुटवल ३ पुस ।
बुटवलमा बुधवारदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो ।
अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुन गईरहेको मेलाको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्घाटन गर्दै लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । मुलुकमा स्थायित्व दिन ठूला दलहरु मिलेर सरकार बनाएको भन्दै राजनीतिक स्थिरता सगै सम्वृद्धिको बाटोमा अगाडी बढेको धारणा राखे ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश लगानीका हिसावले धेरै सम्भावना रहेको बताउँदै लगानीको वातावरण बनाउन संघीय सरकारसंगै प्रदेश सरकार पनि लागि परेको धारणा राखे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बजारको सौन्दर्यकरण र विद्युतीय सुरक्षाका लागि बुटवलको बस्ती हुदै प्रवाह भएको हाइटेन्सन लाइनलाई ब्यवस्थीत गरी विद्युतीकरणको व्यवस्था मिलाउन उर्जामन्त्री खड्कासंग माग गरे ।
२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा बुटवल उद्योग वाणिव्य संघले औद्योगिक प्रदर्शनी गरेको थियो । यो २४ औं संस्करणको औद्योगिक व्यापार मेला हो । बटुवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न अझ परिस्कृत रुपमा मेला आयोजना गरिएको आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, बुटवल उवासंघका पूर्वअध्यक्ष नवराज श्रेष्ठ, एमाले रुपन्देहीका अध्यक्ष यज्ञप्रसाद गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, संघका वरिष्ठ उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक टंकप्रसाद गैरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डे लगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागि छन् । १६ दिनसम्म सञ्चालन गरिने मेलामा ५ लाख बढीले अवलोकन गर्ने र मेला भित्र १५ करोड बढीको कारोवार हुने अनुमान गरिएको बुटवल उद्योग वाणिज्य संघका महासचिव तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।
औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यबसायिकरणका लागि बिशष्ो महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिन रहेकाछन् । त्यसैगरी दुवई फिस टनेल सहितको वालउद्यान रहेको छ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम हुनेछन् ।
मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता, व्यटि फियर, टिकटक लगायतका प्रतियोगिता गरिने छ । त्यसैगरी ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचारप्रसाद उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी गराए । मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैया टिकट शुल्क निर्धारण गरिएको छ । त्यस्तै जेष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिका लागि निःशुल्क टिकटको व्यवस्था मिलाईएको आयोजकले जनाएका छन् ।