२०८१ पुष ११

लुम्बिनीका पहाडी जिल्लालाई कफि हव बनाउन छलफल
  • लुम्बिनी खोज
  • २०८१ पुष १०, बुधबार १०:५८ गते

बुटवल १० पुस ।
लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लालाइ कफिको हवको रुपमा विकास गर्न पहल सुरु गरेको छ । प्यूठानको सरुमारानी गाउँपालिका बडडाँडामा रहेको चिया तथा कफि विकास कार्याल, स्थानीय जनप्रतिनिधि तथा किसानहरुसंग प्रदेशका पहाडी जिल्लाहरुमा कफि खेतीको सम्भावना धेरै भएकाले कफि हव बनाउने बारेमा बुधबार छलफल गरिएको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा.रामबहादुर राउतलगायतले सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्मा, उपाध्यक्ष बसन्ता खड्का, कफि विकास वोर्डका प्रमुख चन्द्रप्रकाश बस्नेत र स्थानीय किसान संग छलफल गरेका हुन ।
पहाडी जिल्लाहरुमा कफि खेतीको सम्भावना रहेको र प्रदेश सरकारले यसकालागि पहल लिने कृषि मन्त्री दिनेश पन्थिले बताए। ‘योजना निर्माण गरेर कफि खेतिलाई विस्तार गरेर जानुपर्ने आवश्यकता छ’मन्त्री पन्थीले भने,‘पहाडी जिल्लाहरुमा कफि खेतिको सम्भावना, बजार र किसानहरुको जीवनस्तर उठाउने बारेमा सरकारले ध्यान दिन्छ ।’
मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार राउतले कफि खेतिलाई लुम्बिनी प्रदेशका जिल्लाहरुमा विस्तार गर्ने बारेमा छलफल सकारात्मक भएको बताए ।
कफि खेतिबाट किसानले राम्रो आम्दानी लिन सक्ने, यसको उत्पादन बढाउन सके अन्तर्राष्ट्रिय बजार पनि राम्रो भएकाले यसमा किसानलाई अनिवार्य जोड्ने बारेमा पहल गरिएको बताइएको छ ।
सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले आफ्नो पालिका दलहनबाली र मह उत्पादनको हवको रुपमा रहेको र अझ गुणस्तरीय उत्पादनकालागि प्रदेश सरकारको साथ सहयोग चाहिएको बताए।