२०८१ पुष २५
बुटवल २२ पुस ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरको ४९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले विद्यालयले प्राप्त गरेका उपलब्धि प्रति खुसी व्यक्त गर्दै नवीनमा धेरै विद्यार्थी र अभिभावकको दृढ विश्वास बढ्दै गएको बताए । विद्यालयको भौतिक पूर्वाधार विकासमा बुटवल उपमहानगरपालिकाले सहयोग गरिरहेकोमा जोड दिँदै नगरपालिकाले खेलकुद, संस्कृतिक र सिर्जनात्मक कार्यमा शिक्षा क्षेत्रलाई जोड्न खोजेको तथा विद्यालयले विद्यार्थीहरूलाई ट्राफिक ज्ञान र अभ्यास गराउन आवश्यकता रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयको भौतिक, शैक्षिक, व्यवस्थापकीय र आर्थिक पक्षको प्रतिवेदन पेश गरेका थिए । उनले आर्थिक वर्ष २०८०।८१ को १५ करोड ६० लाख ४७ हजार सात सय त्रिसट्ठीको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा सहायक प्रधानाध्यापक रोमनाथ घिमिरेको स्वागत मन्तव्यमा भएको समारोहको सञ्चालन कानुन समूह इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेलले गरेका थिए।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाइ प्रमुख माधव बन्जाडे, पूर्व जिल्ला शिक्षा अधिकारी भोज बहादुर के.सी., नेपाली कांग्रेस बुटवलका उपाध्यक्ष ज्योती भण्डारी, एमाले बुटवल कमिटीका अध्यक्ष शोभाखर पोखरेल, माओवादी केन्द्र बुटवलका अध्यक्ष तथा विद्यालयका अभिभावक महेन्द्र भुसाल, एकीकृत समाजवादी बुटवलका अध्यक्ष चिण बहादुर गुरुङ, नेपाल शिक्षक महासंघ बुटवलका अध्यक्ष तथा जितेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र ज्ञवाली, विद्यालयका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद खरेल, नवीन विद्यार्थी क्लबका अध्यक्ष सुभाष पौडेल लगायतले विद्यालय तथा शिक्षा क्षेत्रका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा उक्त अवसरमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नवीन दर्पण २०८१ को विमोचन र ६६ लाख ४७ हजारको लागतमा निर्माण गरिएको दुई तले छात्रवास भवनको समुद्घाटन गरेका थिए ।
त्यस्तै एसएलसी, एसइइमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरू, एमबिबिएस, इन्जिनियरिङ, बाम्स लगायतमा नाम निकाल्न सफल विद्यार्थीहरु, विषयगत अध्यापनमा विषयगत उच्च उपलब्धि स्तर ल्याउने शिक्षक तथा प्रशिक्षक, दीर्घसेवी शिक्षक, उत्कृष्ट कर्मचारी, छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने २५ जना खेलाडीहरुलाई, क्यानन ७ ए साइट इन्टर कलेज फुटबल टुनामेन्ट २०८१ मा द्वितीय हुन सफल खेलाडीहरु र बुटवल उपमहानगरपालिकाद्वारा आयोजित अन्तरविद्यालय स्तरीय छात्र तथा छात्रा कवड्डीमा तृतीय भएका विद्यार्थीहरूलाई नगद र प्रमाणपत्र साथै विद्यालय स्तरीय खेल सप्ताहमा उत्कृष्ट खेलाडीहरुलाई र होटल व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गर्ने विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा प्राध्यापक आनन्दमान सिंह शाक्य, प्राध्यापक नुरजङ्ग के.सी., सह–प्राध्यापक लीला बल्लभ ढकाल, नेपाल पौडी सङ्घ लुम्विनी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, पूर्व जिल्ला शिक्षा अधिकारी इन्द्र कुँवर, हेम बहादुर पछाई, पूर्व कोष नियन्त्रक केदार घिमिरे, बक्सिङ सङ्घ लुम्विनी प्रदेश अध्यक्ष राजु गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी बुटवलका अध्यक्ष राजन पाण्डेय, कालिका मानवज्ञान मा.वि. वि.व्य.स. अध्यक्ष नित्यानन्द ज्ञवाली, नयाँगाउँ मा.वि. का प्रधानाध्यापक पुर्षोत्तम भट्टराई र नेपाल शिक्षक संघ बुटवलका शिव प्रसाद अर्याल लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा होटल व्यवस्थापन संयोजक आशिष के.सी.को नेतृत्वमा विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका थिए भने संस्कृतिक संयोजन अर्जुन शाह ठकुरीलेको नेतृत्वमा कलाकार विद्यार्थीहरुले उत्कृष्ट नृत्यहरु प्रस्तुत गरेका थिए ।