२०८१ माघ ६
बुटवल ५ पुस ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिना पुस मसान्तसम्ममा जम्मा १९ दशमलव ३४ प्रतिशत बजेट खर्च गरेको छ ।
यसमा चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएकोमा अहिलेसम्म ७ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ खर्च भएको हो ।
पुँजीगत र चालुगरी पुस मसान्तसम्म १९ दशमलव ३४ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशले जनाएको छ ।
पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा ६ महिनामा जम्मा ४ अर्ब ९ करोड १३ लाख खर्च भएको छ । चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा ३ अर्ब ४४ करोड ४६ लाख खर्च भएको छ ।
यहा सबैभन्दा कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च छ । यसको पुँजीगत खर्च शून्य प्रतिशत छ ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको पुँजीगत खर्च अहिलेसम्म शून्य दशमलव १६ प्रतिशतमात्रै छ । चालु आर्थिक वर्षको ६ महिनामा उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको पुँजीगत खर्च २ दशमलव शुन्य ६ प्रतिशत छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३ दशमलव ९३ प्रतिशत पुजिगत खर्च भएको छ ।
सामाजिक विकास मन्त्रालयको ५ दशमलव ६० प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । त्यस्तै वन तथा वातावरण मन्त्रालयको चार दशमलव ६० प्रतिशत छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पुँजीगत खर्च ६ महिनामा ११ दशमलव ६२ प्रतिशत , खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको १९ दशमलव ५२ प्रतिशत छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयले १८ दशमलव ८० प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्च १४ दशमलव ६१ प्रतिशत रहेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ४२ दशमलव १२ प्रतिशत छ ।