२०८१ माघ ९

खेल क्षेत्रमा उत्कृष्ठता हाँसिल गर्नेहरुका लागि अवसरको कमी छैनः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ माघ ९, बुधबार १३:४६ गते

नवलपरासी ९ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेलक्षेत्रमा उत्कृष्ठता हाँसिल गर्नेहरुकालागि अवसरको कमी नभएको बताएका छन् । सुनवल नगरपालिका स्तरीय चौथो राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगीताको रमवापुर माध्यमिक विद्यालयमा बुधवार उद्घाटन गर्दै उनले खेल क्षेत्रमा उत्कृष्ठता हाँसिल गर्नेहरुलाई अवसरको कमि नरहेको बताएका हुन् ।
सरकारले खेल क्षेत्रको पूर्वाधार विकासदेखी विद्यालय तहबाट खेलाडी उत्पादन गर्ने काममा प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए।‘कुनै समय थियो खेल भनेपछी अभिभावक पनि टाढिने, घरबाट समेत अवसर नदिने अवस्था थियो । तर, अहिले त्यस्तो छैन । समय फेरिएको छ । खेल क्षेत्रमा प्रसस्त अवसरहरु छन’उनले भने,‘सरकारले नै खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’ सबै खेल विधालाई सरकारले समानरुपमा प्राथमिकतामा राखेर अघि बढाइरहेको समेत उनले बताए ।‘देशको पहिचान र चिनारी खेल क्षेत्रले दिएको छ । विश्वजगतमा नेपालको नाम अव खेलकुदबाट चिनिन थालेको छ । यो सुखद बिषय हो’उनले भने,‘राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा चर्चा हुन थालेको छ ।’
तीन तहका सरकारले खेल क्षेत्रको समान विकास गर्न प्राथमिकताका साथ काम गरिरहेको भनाई उनको छ ।
विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष सालिकराम साप्कोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य खड्ग बस्नेत लगायतको उपस्थिती थियो ।