२०८१ माघ १६
लुम्बिनीको विकासबारे चासा
लुम्बिनी १३ माघ ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापती सहितको टोलीले आईतबार लुम्बिनी भ्रमण गरेका छन् । समितिका सभापती सन्तोष चालिसेको नेतृत्वमा आएका प्रतिनिधिसभा सदस्यहरुले लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गरी लुम्बिनीको विकासबारे चासो राखेका हुन ।
सांसदहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे । भ्रमणपछि अर्थसमितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले लुम्बिनी विश्वका बौद्धमार्गी र शान्तिकामीहरुको पवित्र तीर्थस्थल भएकाले यसको विकासका बारेमा आफूहरुले चासो राखेको बताए । उनले लुम्बिनी गुरुयोजनाको ८८ प्रतिशत काम पूरा भएको तर बाँकी रहेको कामका लागि बजेट अभावका बिषयमा आफूहरुले ध्यान दिने समेत बताए ।
उक्त अवसरमा सदस्य सचिव शाक्यले लुम्बिनी गुरुयोजनाको बाँकी काम, लुम्बिनी क्षेत्रमा भइरहेका पछिल्ला गतिविधिबारे अर्थ समितिका सांसदहरुलाई जानकारी गराए । लुम्बिनीको पुरातात्विक, धार्मिक र साँस्कृतिक महत्वबारे जानकारी गराउँदै लुम्बिनीलाई पछिल्ला बर्षमा बजेटमा भएको कटौतीका बारेमा समेत ध्यानआर्कषण गराएको शाक्यले बताए ।
सांसदहरुले मायदेवीको दर्शन, पवित्र पुष्करणीपोखरी, अशोकस्तम्भ, केही विहार क्षेत्रहरुको भ्रमण गरेका थिए । भन्सार विधेयकका बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया र सुझाव संकलनका लागि नेपालगञ्ज, कृष्णनगर हुँदै भैरहवामा आएको बेला समितिका सांसदहरुले लुम्बिनी भ्रमण गरिएको अर्थसमितिका सचिव रेखा उपाध्यायले जानकारी दिईन ।