२०८१ फाल्गुन १३
बुटवल १० फागुन ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको राम्रो संभावना भएको बताएका छन् । उनले नेपालमा केही छैन भन्ने गलत मान्यतालाई चिर्न जरुरी रहेको समेत बताएका छन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा गरिएको कार्यकममा बोल्दै उनले उद्यमशिलताको विकास गर्दै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखे । उनले भने–’नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु छन्, ती सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ ।’
यहाँको स्रोत साधनलाई उपयोग गरेर धेरै आम्दानी गर्न सकिने चर्चा गर्दै उनले नेपालमा प्राकृतिक सोत साधनको प्रचुर सम्भावना रहेको बताउँदै त्यसलाई ’क्यापिटलाईज’ गर्नुपर्नेमा जोड दिए ।
यहाँ भएका स्रोत साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता पनि विकास हुने र रोजगारी पनि प्रशस्त सिर्जना गर्न सकिने बताउँदै उनले लगानीकर्तालाई त्यसतर्फ आकर्षित गर्नुपर्ने बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रका उद्योगी व्यवसायीहरुले २००९ सालमा तदर्थ समिति गठन गरी विधिवत रुपमा २०१० सालमा बुटवल उद्योग वाणिज्य संघको स्थापना गरेको जानकारी गराउँदै संघको स्थापनासंगै संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासमा समेत लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको बताए ।
संघले शिक्षा क्षेत्रमा लुम्बिनी वाणिज्य स्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पसको स्थापना, बुटवल बहुमुखी क्याम्पसको विज्ञान भवन निर्माण, स्वास्थ्यमा आम्दा अस्पताल, लूम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती भवन निर्माण लगायतका पूर्वाधार निर्माणमा लगानी सहितको नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्दै अर्यालले त्यस बाहेक यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा पनि उल्लेखनीय योगदान गरिएको बताए ।
पूर्वअध्यक्ष मल्लीलाई सम्मान
कार्यक्रममा बुटवल उद्योग पाणिज्य संघका पूर्वअध्यक्ष कुशप्रसाद मल्लीलाई सम्मान गरिएको छ । संघको स्थापना दिवसको अवसरमा पूर्वअध्यक्षहरुको तर्फबाट उनलाई सम्मान गरिएको हो । संघलाई पु¥याएको योगदान वापत उनलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सम्मान ग्रहण गर्दै पूर्वअध्यक्ष मल्लीले संघले गरेको सम्मान प्रति खुशी ब्यक्त गर्दै उद्योग व्यवसायको प्रवद्र्धन र विकास विना मुलुकको आर्थिक विकास सम्भव नभएको बताए । मुलुकको आर्थिक विकासका लागि व्यवसायिक संस्थाहरुले पहल र पैरवी गर्नुपर्ने उनको भनाई छ ।
संघको स्थापना दिवसकै अवसरमा मानव सेवा आश्रमलाई ५१ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरिएको छ । त्यस्तै बुटवल उद्योग वाणिज्य संघको आयोजनामा भएको ओैद्योगिक व्यापार मेलामा योगदान गरेका फरक क्षमताका भरतराज केसी र डिल्लीराज कंडेललाई पनि सम्मान गरिएको थियो ।
संघको आयोजनामा भएको ओैद्योगिक व्यापार मेलाका बारेमा लुम्बिनी बाणिज्य क्याम्पसले गरेको अध्ययन प्रतिवेदन सोही कार्यक्रममा संघलाई बुझाएको छ । उक्त अध्ययन प्रतिवेदन क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ र क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले संघका अध्यक्ष हरिप्रसाद अर्याललाई हस्तान्तरण गरेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, संघका पूर्व वरिष्ठ उपाध्यक्ष रोहितराज क्षेत्री, रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।