२०८१ चैत्र ४

रनिङ् शिल्ड महिला भलिबलको उपाधि उजिरसिंहलाई
  • लुम्बिनी खोज
  • २०८१ फाल्गुन ११, आईतवार १२:५५ गते

बुटवल ११ फागुन ।
जीपी कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा बुटवलमा भएको महिला भलिबल प्रतियोगिताको उपाधि उजिरसिंह माध्यमिक विद्यालयले जितेको छ । जीपी कोइराला स्मृती महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताको आइतबार भएको फाईनल खेलमा न्यू नमुना बोर्डिङ स्कुल देवदहलाई रोक्दै उजिरसिंहले उपाधि हात पारेको हो ।
उजिरसिंहले उपाधिसंगै रनिङ शिल्ड, शिल्ड र मेडल सहित २५ हजार रुपैया नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै दोस्रोमा समेटिएको न्यू नमुना बोर्डिङले शिल्ड, मेडल र प्रमाणपत्र सहित २० हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा तिलोत्तमाको शान्ति नमुना तृतीय र बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पस सान्त्वना भए । उनीहरुलाई क्रमश १५ हजार र १० हजार रुपैया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडि उजिरसिंहकी पुजा सेन ठकुरी र अनुशासित खेलाडि न्यू नमुनाकी सिर्जना सारु मगरलाई जनही १ हजार ५ सय रुपैया नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष बालकुमारी भण्डारी, काजिमान श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन र भलिबल खेलमा महिलाको आकर्षण बढाउनका लागि शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजना गरिएको १३ औं संस्करणको प्रतियोगितामा यस क्षेत्रका सामुदायिक र संस्थागत गरि १४ विद्यालयको सहभागिता रहेको प्रतियोगिताका संयोजक तथा प्रतिष्ठानका सदस्य बाबुराम विकले जनकारी गराए।