२०८१ चैत्र २६

बुटवल उवासंघको परिषद् सभा : भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएकोमा चिन्ता व्यक्त
  • लुम्बिनी खोज
  • २०८१ चैत्र २५, सोमबार १३:१९ गते

बुटवल २५ चैत ।
भैरहवाबाट अन्तराष्ट्रिय उडान रोकिएकोमा चिन्ता ब्यक्त गरिएको छ । बुटवल उवासंघको कार्यक्रममा ब्यवसायीहरुले यस क्षेत्रको आर्थिक गतिविधि बढाउन अन्तराष्ट्रिय उडान महत्वपूर्ण हुने भन्दै उडानको लागि पहल हुनुपर्ने बताए । अर्थतन्त्र चलायमान हुने खालको बातावरण बन्नुपर्नेमा उद्योगी ब्यवसायीहरुले जोड पनि दिए ।
कार्यक्रममा वोल्दै नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान रोकावटले यस क्षेत्रका उद्योगी व्यवसायीलाई चिन्तित बनाएको बताए । निर्माण पुरा भएको लामो प्रतिक्षा पछि सञ्चालनमा आउँदा उत्साह थपिएको तर अहिले अन्तराष्ट्रिय उडान रोकिँदा यस क्षेत्रका उद्योगी व्यवसायीलाई गम्भिर र चिन्तित बनाउनुका साथै निराशा पैदा गराएको उनले बताए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ३१ औं परिषद सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै उनले यस्ता गतिविधिले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा गिरावट आउने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा बुटवल उवासंघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यवसायीका समस्या समाधानका लागि महासंघले पहल गरिरहेको बताउँदै महासंघको पहलकै कारण बैंकको व्याजदर घटेको दावी गरे ।संघका अध्यक्ष हरिप्रसाद अर्यालले संघले यो वर्ष गरेका कार्यक्रम तथा पहल र पैरवीका बारेमा जानकारी गराएका थिए । उनले ती कामकोे समिक्षा गर्न र भावी कार्यक्रम तय गर्नका लागि सुझाव सल्लाह दिन परिषदका सदस्यहरु बस्तुगत समितिका सभापतिहरुलाई आग्रह गरे ।
त्यस अवसरमा संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, पूर्व सचिव कृष्णकुमार श्रेष्ठ, कृषि परामर्शदाता डा. प्रदिप शर्मालगायतले संघले गर्ने कार्यक्रमसंगै परिणामको पनि खोजी गर्नुपर्ने बताए ।
कार्यक्रममा संघले प्रकाशन गरेको नयाँवर्ष २०८२ सालको क्यालेण्डर विमोचन गरिएको छ भने क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने सहयोगी हातहरुलाई सम्मान गरिएको क्यालेण्डर प्रकाशन समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य काशीराम पौडेलले जानकारी गराए ।