२०८२ जेष्ठ २२
बुटवल, २८ चैत्र ।
ढुवानी व्यवसायी समिति, रुपन्देहीको आयोजनामा नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान, नयाँ बर्षको क्यालेन्डर विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
समितिका अध्यक्ष जीतबहादुर भाटको अध्यक्षतामा भएको कार्यक्रममा हालै सम्पन्न लुम्बिनी ट्रक यातायात व्यवसायी संघको अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई सम्मान गरिएको थियो । त्यसैगरि समितिले प्रकाशन गरेको नयाँ बर्ष २०८२ को क्यालेन्डर विमोचन पनि सोहि कार्यक्रममा गरिएको थियो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष डिल्लीप्रसाद शर्माले वितेका बर्षका कामको समिक्षा गर्दै नयाँ बर्षमा नयाँ कामको सोच बनाएर अगाडी बढ्न सबैलाई आग्रह गरे ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले पछिल्ला दिनहरुमा यातायात क्षेत्रले धेरै समस्याहरु झल्नु परेको स्मरण गारउदै नयाँ सालमा ति समस्याहरु निराकरण भएर जाने आशा व्यक्त गरे । उनले ढुवानी क्षेत्रमा देखिएका समस्याहरु र अप्ठ्याराहरु व्यवसायीहरुको एकताले मात्र समाधान गर्न सक्ने हुदा ट्रक व्यवसायी र ढुवानी व्यवसायी मिलेर अगाडी बढ्न सुझाव दिए ।
कार्यक्रममा नव निर्वाचित लुम्बिनी ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष रुमाखर गौतमले यातायात क्षेत्रलाई राज्य प्राथमिकतामा नराख्दा यस क्षेत्रमा समस्या बढेको उल्लेख गर्दै लगानी अनुसार व्यवसायीहरुले भाडा नपाएको गुनासो गरे ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डे, नेपाल ढुवानी व्यवसायी महासंघका प्रदेश अध्यक्ष श्यामबहादुर हमाल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, लुम्बिनी ट्रक यातायात व्यवसायी समितिका निर्वतमान अध्यक्ष विष्णु खरेल, ढुवानी व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष माधव आर्चाय, महासचिव कमल ढुङ्गानालगायतले यातायात क्षेत्रका बारेमा चर्चा गरेका थिए ।