२०८२ बैशाख ८

पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔंः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८२ बैशाख ८, सोमबार ११:५३ गते

दाङ ८ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताएका छन् ।
समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपालः स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच, भन्ने मूल नाराका साथ आयोजित खाद्य प्रणाली संवाद कार्यक्रममा उनले रैथाने खाद्यान्न बालिमा पोषणको मात्रा अधिक रहेको भन्दै रैथाने बालिको संरक्षण, सम्बर्द्धन र प्रयोगमा आधारित नीति लिइने बताए ।
उनले खेती प्रणालीलाई अर्गानिक बनाउनुपर्नेमा पनि जोड दिए । रैथाने बालिको संरक्षण, उत्पादन र प्रयोग गर्न सरकारले नीति निर्माण गर्नेछ । पोषण प्रवर्द्धन एक्लो प्रयासले सम्भव हुँदैन । यसमा तीन तहका सरकार, सामाजिक संघसंस्था र समुदायको सहभागिता आवश्यक छ,उनले भने।
मकै, गहुँ, जौं, फापर, कोदोजस्ता रैथाने बालि ओझेलमा परेको भन्दै संरक्षण, प्रवर्द्धन र प्रयोगमा आधारित नीति आवश्यक भएको धारणा राखे ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अशल खानपान सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको थियो ।
लुम्बिनी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव घनश्याम चौधरीले प्रदेश खाद्यान्न, माछा, मासु र दूधमा आत्मनिर्भर भए पनि अन्य क्षेत्रमा अझ सुधार आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका शाखा अधिकृत चन्द्रप्रकाश बस्नेतले प्रस्तुत गरेको तथ्याङ्क अनुसार नेपाल विश्व खाद्य जोखिम सूचकांकमा १२औं स्थानमा रहेको छ ।
पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले पोषणयुक्त खानाको मात्रा सुनिश्चित गर्नुपर्ने बताए । उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले गुणस्तरीय र पोषणयुक्त उत्पादनमा ध्यान दिनुपर्ने धारणा राखे।
नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषि चौलागाईंले खाद्यान्न आयात बढ्दै गएको भन्दै उत्पादन वृद्धि सन्तुलित रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।
सहभागी वक्ताहरूले खाद्य सुरक्षालाई विकासको आधारशिला मान्दै यस क्षेत्रमा गम्भीर नीतिगत हस्तक्षेपको आवश्यकता औंल्याएका थिए ।