२०८२ बैशाख १३
सेमिनारको उद्घाटनका लागि प्रधानमन्त्री ओली लुम्बिनी आउँदै
लुम्बिनी १२ बैशाख ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार हुन लागेको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेष्टिवल लुम्बिनीमा आयोजना गरिएको हो । बैशाख १३ र १४ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
फेस्टिवल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिभलको समन्वय सारीपुत्र फाउण्डेसनले गरेको छ । नेपाल र चीनबीचको कला संस्कृति प्रवद्र्धनको उद्देश्यसहित फेस्टिबल हुन लागेको हो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।
फेस्टिवलमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । विहान ८ बजेदेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा फेस्टिवल शुरु हुने जनाइएको छ । फेस्टिवलमा ५ हजार बढीको सहभागिता रहने बताइएको छ ।
अन्तर्राष्ट्रिय सेमिनार भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ । विश्वविद्यालयको मेत्ता हलमा हुने सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले गर्ने कार्यक्रम रहेको छ ।
सेमिनारमा ४० वटा कार्यपत्र प्रस्तुत हुने सेमिनार संयोजक डा. सागर न्यौपानेले जानकारी दिए । बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर सेमिनारमा कार्यपत्र प्रस्तुत हुने न्यौपानेको भनाई छ ।
सेमिनार शनिबार दिउँसो १ बजेबाट शुरु भई आइतबार ५ बजे सकिने बताइएको छ । कार्यपत्रमध्ये ३२ वटा विदेशी विज्ञहरुको रहेको जनाइएको छ ।
फेस्टिवल अन्तर्गत अन्र्तराष्ट्रिय ध्यान केन्द्रमा सांस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी हुनेछ । मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको सारिपुत्र फाउन्डेनले जनाएको छ ।
यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक फेस्टिवल कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने योजनासहित यो पटक लुम्बिनीमा फेष्टिबल आयोजना गरिएको जनाइएको छ ।