२०८१ कार्तिक ६

युवतीको हत्या भएको भन्दै छानबिन गर्न माग गर्दै प्रर्दशन
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २, शुक्रबार १६:४९ गते

बुटवल ।
रुपन्देहीको तिलोत्तमामा गत बुधबार राति एक युवतीको रहस्यमय मुत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रिएका छन । २९ वर्षीया अमृता खत्रीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासीले छानबिन गर्न माग गर्दै आएका छन । उनीहरुले शुक्रवार प्रदर्शन समेत गरेका छन् । प्रदर्शनमा सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
बुधबार राति जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको र अमृता गएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।
माइती पक्षका अनुसार माइतमै रहेकी अमृता ज्वाइ प्रेम टण्डनको पटक–पटकको फोनपछि बुधबार राति साढे ८ बजे घर गएकी थिइन् । घर गएपछि राति ९ बजेर ३२ मिनेटमा अमृताले दाजुलाई आफूलाई बचाउन र घरबाट निकाल्न भन्दै म्यासेज पठाएकी थिइन् । १० बजेर १५ मिनेटमा प्रेमले अमृता बिरामी भएको भन्दै अस्पतालमा बोलाएका थिए । आफूहरु त्यहा पुग्दा अस्पतालले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएको माइती पक्षले बताएका छन ।
पछिल्लो समयमा पटक–पटक घरपरिवारले कुटपिट र यातना दिएको र बुधबार विष सेवन गराएको आफ्न्त तथा स्थानीयबासिन्दाको आरोप लगाएका छन् ।
सात वर्षअघि प्रेम विवाह गरेकी अमृताले गत भदौमा पटकपटक यातना पाएको भन्दै वडा कार्यालयमा निवेदन दिएकी थिइन् । त्यसपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् । मृतकका आफ्न्तले प्रहरीमा किटानी जाहेरी दिएका छन । प्रहरीले मृतकका श्रीमान, सासु, ससुरालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताए ।
यता इलाका प्रहरी कार्यालयअघि गरेको प्रदर्शनको समाचार संकलन गर्नेक्रममा प्रहरीले सञ्चारकर्मीमाथि दुब्यवहार गरेका छ । अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा पत्रकारहरू शरण कर्माचार्य, दिनेश श्रेष्ठ, डीबी सुस्लिङको मोबाइल खोस्दै प्रहरीले हातपात गर्न खोजेको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीले समाचार संकलनको क्रममा गरेको ज्यादतीको विषयमा विभिन्न सञ्चार सम्बद्ध संस्थाहरुले भत्सना गर्दै विज्ञप्ति जारी गरेका छन् ।
पत्रकार महासंघ रुपन्देही शाखाले विज्ञप्ति जारी गर्दै प्रहरीका जिम्मेवार व्यक्तिबाट फोटो÷भिडियो खिच्न रोक लगाउने, पत्रकार परिचय देखाउँदा पनि छातीमा समातेर ‘पत्रकार चिन्दिन’ भन्दै प्रहरीले गरेको हातपात र दुर्व्यवहार खेदजनक रहेको जनाएको छ । त्यस्तै महासंघको प्रदेश समितिका महासचिव बिक्रम खड्काले पनि घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् । प्रदेश समितिबाट प्रकाशित विज्ञप्तिमा अमर्यादित गतिविधि गर्ने प्रहरीलाई कारवाही गर्नु पर्ने उल्लेख गर्दै आगामी दिनमा यस्ता घटना नदोहो¥याउन प्रहरीलाई चेतावनी दिएको छ ।
त्यसैगरि प्रेस चौतारी नेपालको रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले पनि विज्ञप्ति प्रकाशित गर्दै घटनाको भत्सना गरेका छन् । रिर्पोटिङको क्रममा पत्रकारमाथि प्रहरीले गरेको दुर्व्यवहारको प्रगतिशील पत्रकार संघ, नेपालले भत्सना गरेको छ । संघका सचिव श्यामलाल पोखरेलले एक विज्ञप्ति जारी गरी पत्रकारमाथि दुब्यवहार गर्ने प्रहरीमाथि तत्काल कारवाही गर्न माग गरेका छन् ।