२०८२ बैशाख २५
बुटवल २३ बैशाख ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको टोलीले बुटवल औद्योगिक क्षेत्र सहितका विभिन्न उद्योगहरुमा स्थलगत अवलोकन गरी उद्योगका समस्याहरु संकलन गरेको छ । त्यस क्रममा उद्योगीहरुले विभिन्न समस्या राखेका छन् । बुटवल औद्योगिक क्षेत्रका उद्योगीहरुले उद्योगको क्षमता अनुसार ठाउँ साघुरो भएको देखि विद्युत समस्या सम्मका विभिन्न समस्याहरु राखेका छन् ।
औद्योगिक क्षेत्रमा भाडा विवाद कायमै रहेको र विद्युतमा समेत समस्या रहेको गुनासो उनीहरुले राखेको संघले जनाएको छ । बुटवल औद्योगिक क्षेत्रमा ६० उद्योग छन् । त्यसमध्ये अधिकांश उद्योग प्लाष्टिक र फेव्रिकेशनका छन् । यो प्रकृतिका उद्योगका लागि २४ सै घण्टा विद्युतको आवश्यकता पर्छ । औद्योगिक क्षेत्र उद्योग संघका वरिष्ठ उपाध्यक्ष प्रज्वल थान्जुका अनुसार केही मिनेट मात्रै विद्युत अवरुद्ध हुँदा उद्योगले धेरै नोक्सान व्यहोर्नुपर्छ ।
त्यसबाहेक औद्योगिक क्षेत्र र बाहिरका उद्योगका अरु समस्या भने समान प्रकृतिका छन् । सिथिल अर्थतन्त्र, जनशक्तिको अभाव, सरकारको गलत औद्योगिक नीति सबै उद्योगका समान समस्या हुन् । औद्योगिक क्षेत्र उद्योग संघका महासचिव कमल ज्ञवालीले कच्चा पदार्थमा भन्सार शुल्क लाग्ने र तयारी बस्तुमा छुट दिनेसम्मका नीतिले नेपाली उद्योगीलाई समस्या गराएको बताए ।
मुलुकको शिथिल अर्थतन्त्रका कारण यस क्षेत्रका उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । रुपन्देहीमा औषधी उद्योगहरु पनि छन् । औषधि उद्योगहरुमा पनि दक्ष जनशक्ति को समस्या रहेको छ । त्यस्तै सानो बजार ठूलो लगानी लगायतका समस्या रहेको ती उद्योगीहरु बताउँछन् ।
बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले उद्योगीहरुका समस्या पहिचान गर्न स्थलगत अवलोकन गरिएको र प्राप्त सुझाव सल्लाहका आधारमा समस्या समाधानका लागि संघले रणनीति तय गर्ने बताउछन् । उद्योगहरुको स्थलगत अवलोकनबाट प्राप्त भएका समस्याहरु तथा सुझाव सल्लाहहरुलाई संघमा छलफल गरी स्थानीय स्तरमा हुन सक्ने संघले पहल गर्ने र माथिल्लो निकायमा भन्नुपर्ने कुरालाई नेपाल उद्योग वाणिज्य महासंघ मार्फत समाधानका लागि पहल र पैरवी गरिने अवलोकन टोली संयोजक तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका उद्योग उपाध्यक्ष सुरज भट्टराईले बताए ।