२०८२ बैशाख २६

नवीनमा विद्यार्थी अभिमुखीकरण तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान
  • लुम्बिनी खोज
  • २०८२ बैशाख २४, बुधबार १३:०८ गते

बुटवल २४ बैशाख ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगर बुटवलमा नव आगन्तुक विद्यार्थी अभिमुखिकरण कार्यक्रम गरिएको छ । बुधवार आयोजित कार्यक्रममा २०८२ को भित्तेपात्रो विमोचन, नव आगन्तुक विद्यार्थी अभिमुखिकरण तथा २०८१ को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम एकसाथ सम्पन्न गरिएको छ ।
कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश सभा बिशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपानेले समाज निर्माणको प्रमुख आधार नै शिक्षा भएकोले शिक्षा बिनाको जीवन तेल बिनाको गाडी जस्तो हुने हुँदा विद्यार्थीहरु अनुशासनमा रहेर शिक्षा हासिल गर्नुपर्ने बताए । नवीनमा अनुशासन सहित शिक्षा प्राप्त गर्न सकिने भएकोले नवीनमा भर्ना हुने विद्यार्थीहरु सौभाग्यशाली भएको धारणा व्यक्त गर्दै उनले विद्यालयको शैक्षिक सुधारको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्राध्यापक आनन्दमान शिंह शाक्यले विद्यार्थीहरुले कसरी अध्ययन गरे सफलता प्राप्त गर्न सकिन्छ भन्ने विषयमा प्रकास पार्दै विद्यार्थीहरुलाई सकारात्मक सोचबाट नै धेरै सफलता प्राप्त गर्न सकिनेमा जोड दिए । आत्मविश्वास, सपना देख्न सक्ने, शरीर स्वस्थ्य राख्न निरन्तर प्रयास गर्ने, नयाँ काम गर्ने, उद्देश्य निर्माण, चुनौतिपूर्ण कार्य गर्ने, पूर्ण तयारी र समय व्यवस्थापन लगायत दशवटा सिद्धान्तको सम्बन्धमा उनले प्रकाश पारेका थिए ।
बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख उपनिर्देशक टिकाराम पन्थीले नेपालकै अब्बल विद्यालयमा भर्ना पाउन सफल भएकोमा समस्त नव आगन्तुक विद्यार्थीहरु भाग्यमानी भएको भन्दै नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै उज्वल भविष्यको कामना गरे । बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा अखिल नेपाल फुटवल संघ केन्द्रीय कार्यालयबाट छनौट भइ कक्षा १० मा अध्ययनरत फुटवल खेलाडी विद्यार्थी मानस थकाली (कास्की) को सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रोमनाथ घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले शैक्षिक सत्र २०८२ मा मन्टेश्वरी देखि ९ सम्म साधारण धार र कक्षा ९ सिभिल इन्जिनियरिङमा गरी ६ सय ६७ जना नयाँ विद्यार्थी भर्ना भएको विवरण पेश गर्दै लुम्बिनी प्रदेश सभा बिशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपाने समक्ष विद्यालयको भलिवल कोट निर्माण तथा खेल मैदान फिलिङ तथा इन्टरलक टायलको लागि मागपत्र पेश गरेका थिए ।