२०८२ जेष्ठ २

श्रीपाली बस्नेतहरूको सक्रियतामा गल्कोटमा रक्त सञ्चार केन्द्र स्थापना
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ २, बिहीबार ११:११ गते

बुटवल १ जेठ ।
गल्कोट नगरपालिका, श्रीपाली बस्नेत समाज नेपाल काठमाडौँ र गल्कोट बाग्लुङका श्रीपाली बस्नेतको सहकार्यमा गल्कोट नगर अस्पतालमा रक्तसञ्चार केन्द्रको हस्तान्तरण तथा समुद्घाटन कार्यक्रम हरिचौरमा सम्पन्न भएको छ।
श्रीपाली बस्नेत समाज काठमाडौँ, श्रीपाली बस्नेत समाज गल्कोट दानसिङडाँडा , बुटवल ,पोखरा , चराउदी, नेपाने, चिनावली , कौलेनी, टेउवा, धाइरन, लमही, मल्म, ताराखोला, चितवन लगायत देशका विभिन्न जिल्लाबाट करिब १ सय ३७ जना श्रीपाली बस्नेतहरूको प्रत्यक्ष सहयोगमा १६ लाख ७८ हजार ३ सय ४१ र धनमान सिंह बस्नेत काठमाडौँको विशेष सहयोग रु. २ लाख ५० हजार गरी कुल १९ लाख २८ हजार ३ सय ४१ आम्दानी सङ्कलन भएकोमा रक्तसञ्चार मेसिन खरिद तथा जडान मर्मतमा १३ लाख ९८ हजार लगानी भएको उ.से. अ.प्रा. लालबहादुर बस्नेतले बताए ।
गल्कोट क्षेत्रका जनताहरूको लागि रगतको अभावको कारणले अकालमा ज्यान नजाओस् भन्ने पवित्र उद्देश्यले अ. प्रा. सेनानी थमन बस्नेत, उ.से.अ. प्रा. लालबहादुर बस्नेत लगायतको सक्रियतामा नेपाल रेडकरस सोसाइटी जिल्ला शाखा बाग्लुङ सँग सहकार्य गरी गल्कोट युनिट रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो।
गल्कोट नगर अस्पताललाई रक्तसञ्चार केन्द्रको हस्तान्तरण तथा समुद्घाटन कार्यक्रम गल्कोट नगरपालिकाका नगर प्रमुख अधिवक्ता भरत शर्मा गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा गल्कोट नगरपालिकाका नगर उप प्रमुख फमलाल निउरे, जिल्ला समन्वय समिति बाग्लुङका सदस्य हर्कबहादुर पाण्डे, गल्कोट नगरपालिका वार्ड नं २ का वडा अध्यक्ष एवं नगर प्रवक्ता हिमबहादुर भण्डारी, वडा नम्बर ५ का वडा अध्यक्ष पवन हमाल, गल्कोट नगर अस्पतालका प्रमुख डाक्टर राजेश पौडेल ,नेपाल रेडक्रस सोसाइटी बाग्लुङ शाखाका राजेन्द्र आचार्य, आयोजक श्रीपाली बस्नेतहरूको तर्फबाट उपरथी अ.प्रा. शेखरसिंह बस्नेत, सहायक रथी अ.प्रा. डाक्टर प्रेमसिंह बस्नेत , श्रीपाली बस्नेत समाज दानसिंह डाँडा गल्कोटका उपाध्यक्ष एवं आर्थिक सङ्कलन समितिका संयोजक उ.से. अ.प्रा. लालबहादुर बस्नेत ,गल्कोट समाज जापानका अध्यक्ष रत्न सिंह बस्नेत, गल्कोट समाज जापानका पूर्व अध्यक्ष मोहन खत्री, महिला नेत्री मञ्जु चालिसेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य क्याप्टेन पूर्णबहादुर रानालगायत गल्कोट क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
रगतको अभावका कारण कसैको पनि अकालमा ज्यान नजाओस् भन्ने पवित्र उद्देश्य लिएर सेनानी अ. प्रा. थमन बस्नेत, उ.से.अ. प्रा. लालबहादुर बस्नेतलगायतका श्रीपाली बस्नेतहरूको सक्रियतामा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो।
श्रीपाली बस्नेत समाज नेपाल काठमाडौँका कार्यवाहक अध्यक्ष सेनानी अ.प्रा. थमन बस्नेतको अध्यक्षतामा , श्रीपाली बस्नेत समाज दानसिनडाँडाका सचिव देवेन्द्र बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको थियो।