२०८२ जेष्ठ ६
बुटवल ५ जेठ ।
लुम्बिनी प्रदेश सरकारले २०४ बुँदे नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखिएको छ ।
प्रदेश प्रमुख घर्तीमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष ०८२।०८३ को नीति तथा कार्यक्रममा प्रदेश सरकारको समग्र विकास, सुशासन, सेवा प्रवाह, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका विविध विषय समेटिएका छन् । प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत नागरिक जीवनस्तर उकास्ने, दिगो विकासमा आधारित समृद्ध प्रदेश निर्माण गर्ने तथा जनताको विश्वास जित्ने दिशा तय गरेको छ ।
कृषिमा उत्पादकत्व वृद्धि, कृषिलाई समृद्धिको मेरुदण्डका रूपमा विकास गर्ने, कृषकका गरालाई सधैं हराभरा बनाउने तथा घरदैलोमै कृषि सेवा पुर्याउने नीति अवलम्बन गरिनेछ । साथै, प्रदेशलाई १० वर्षभित्र पूर्ण प्राङ्गारिक प्रदेश बनाउने लक्ष्य लिइएको छ । अर्गानिक खेतीलाई विकासगरी प्रदेशलाई अर्गानिक खेतिको केन्द्रको रुपमा विकास गरिने उल्लेख छ ।
उद्योग, उद्यमशीलता र स्वदेशी वस्तुको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने तथा सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई अझ मजबुत बनाउने योजना छ । सञ्चार जगतसँग सहकार्य गरी सरकारको नीति तथा कार्यक्रम जनस्तरसम्म पुर्याइने उल्लेख गरिएको छ ।
वन्यजन्तु पीडितलाई घरमै राहत, सडकसँगै हरियाली र फलफूलका विरुवा रोप्ने अभियान सञ्चालन, शिक्षासँगै सीप, राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति गरी २०० शैयामा विस्तार, विपद् व्यवस्थापनको पूर्वतयारी तथा देउखुरीमा जलवायु केन्द्र स्थापना जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समावेश छन् ।
प्रदेश गौरवका आयोजनाहरूलाई सम्पन्न गर्ने, विपन्न नागरिकका लागि मेडिकल कलेज तथा अस्पतालमा निःशुल्क सेवा उपलब्ध गराउने, सर्पदंश उपचार विस्तार तथा विद्यालय–समुदायमा स्वास्थ्य कार्यक्रम विस्तार गर्ने योजना समेत नीति तथा कार्यक्रममा उल्लेख छन् ।