२०८२ जेष्ठ ८

राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ ७, मंगलवार १३:३५ गते

काठमाण्डौं ६ जेठ ।
सरकारले अर्थशास्त्री विश्वनाथ पौडेललाई नेपाल राष्ट्र ब्याङ्कको १८औं गभर्नर नियुक्त गरेको छ।
मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गरेको हो । मंगलवार सम्पन्न मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई आगामी पाँच वर्षका लागि गभर्नर नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यसअघि आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। सिफारिस समितिले दिएको नामबाटै पौडेललाई गभर्नर नियुक्त गरिएको सञ्चारमन्त्री गुरुङले जानकारी दिए।
डा. पौडेल यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भएका थिए। २०७९ को आम निवार्चनमा उनी चितवन–१ बाट नेपाली कांग्रेसबाट चुनाव लडेका थिए ।
गत चैत २४ गते तात्कालिक गभर्नर महाप्रसाद अधिकारी सेवानिवृत्त भएयता यो पद खाली थियो। नियुक्तिमा ढिलाइ हुँदा सरकारको आलोचना भएको थियो।

प्रधानमन्त्री केपी ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच मङ्गलवार दिउँसो पौडेललाई गभर्नरमा नियुक्त गर्ने सहमति भएको भन्ने विवरणबीच अपराह्न बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेलसमेत तीन जनाको नाम सिफारिस गरेको थियो।