२०८२ जेष्ठ १५
बुटवल १३ जेठ ।
लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता माथि छलफल शुरु भएको छ । यहा आइतबारको बैठकमा आर्थिक वर्ष २०८२।०८३ को “प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)” पेश भएकोमा मंगलबारबाट छलफल शुरु भएको हो ।
छलफलमा भाग लिदै प्रदेशसभा सदस्यहरूले करका दायरा बढाउनुपर्ने तथा प्रदेशलाई सम्वृद्ध बनाउने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए । विपक्षी दलका सांसदहरुले प्रदेशको सम्वृद्धिका लागि विभिन्न विषयमा सुधारका लागि सुझाव दिएका थिए ।
तयस्तै प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रमले समेटेका कृषि आधुनिकीकरण र उत्पादनको बजारीकरणलाई प्रभावकारी बनाउन पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् । साथै, खानेपानी, सरसफाइ र आधारभूत स्वास्थ्य सेवा व्यवस्थापन, योजना बैंकको आधारमा बजेटको वितरण, तथा समावेशी र दिगो विकासमा बजेट केन्द्रित गरिनुपर्ने सुझाव सांसदहरूले राखेका छन् ।
सांसदहरूले बजेट निर्माणमा महिलाको सहभागिता न्यून भएको, विद्यालय छाड्ने विद्यार्थी दर उच्च भएकाले त्यसको रोकथामका लागि प्रभावकारी योजना आवश्यक भएको, तथा विनियोजित बजेटअनुसार राजस्व संकलनको लक्ष्य पूरा गर्न प्रदेश सरकारले विशेष रणनीति बनाउनु पर्ने जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सिद्धान्त र प्राथमिकतामाथिको छलफलका लागि मंगलवार र बुधवारका दिन तोकेका थिए । सोही अनुरुप बुधवार पनि छलफल हुने बताइएको छ ।
मंगलवारको बैठकमा भोजप्रसाद श्रेष्ठ, धनबहादुर मास्की, वीरवहादुर राना, निमा गिरी, सायरा बानो, जानकी प्रसाद यादव, चन्द्र केश गुप्ता, भगवति अधिकारी, सन्जुकुमारी चौधरीलगायतले करको दायरा बढाउनुपर्ने देखि सुधारका लागि विभिन्न सुझाव दिएका थिए ।