२०८२ जेष्ठ १६
बुटवल १४ जेठ ।
राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धान कार्यालय बुटवल मार्फत राजश्व चुहावटको अभियोगमा आकाश अग्रहरी विरुद्ध एक करोड ६ लाख ५५ हजार २ सय ९२ रुपैया असुल उपर गर्न माग दावीसहित मुद्दा दायर गरेको छ ।
अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार सुन्दर प्लाईउड सेन्टर भैरहवाका अग्रहरी विरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर भएको हो । अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी गर्दा बिजक नै जारी नगरी मालवस्तु विक्रि गरेको देखि मालवस्तुको विवरण पनि फरक पाइएको थियो ।
भन्सार चोरी पैठारी तर्फ अधिक मौज्दातको विगो ३ लाख २५ हजार८०७, मुल्य अभिवृद्धि कर तर्फको अधिक मौज्दातको विगो २ लाख ५२ हजार २७८, मुल्य अभिवृद्धि कर तर्फको न्यून मौज्दातको बिगो १५ लाख ६९ हजार २३६ र आयकर तर्फको बिगो ३१ लाख ८० हजार ३२५ गरी ५३ लाख २७ हजार ६४६ रुपैया विगो कायम गरिएको छ । प्रमुख घिमिरेका अनुसार बिगोको शत प्रतिशत जरिवान सहित एक करोड ६ लाख ५५ हजार २ सय ९२ रुपैया असुल उपर गर्न माग दावीसहित मुद्दा दायर गरेको छ ।