२०८२ जेष्ठ १९

अन्तर्राष्ट्रिय दुध दिवसमा बुटवलमा कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ १६, शुक्रबार ११:४० गते

बुटवल १६ जेठ ।
अन्तर्राष्ट्रिय दुध दिवसको अवसरमा कार्यक्रम गरिएको छ । बुटवल उद्योग वाणिज्य संघमा गठित डेरी बस्तुगत समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
प्रतियोगितामा एभरेष्ट माध्यमिक विद्यालयकी खुसी पाण्डे प्रथम भएकी छिन् । प्र्रतियोगितामा स्कलर्स होमकी स्लेसा शर्मा द्वितीय, न्यू होराईजनकी तेजश्वी नेपाल तृतीय तथा ज्ञानोदय माध्यमिक विद्यालयका दिपेश रोकाय र नवरत्न माध्यमिक विद्यालयकी समिक्षा लम्साल सान्त्वना भएको मुल्यांकन समिति सदस्य पशुपंछी निर्देशनालयका नरेन्द्र पौडेलले जानकारी दिए । प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका १७ विद्यालय सहभागि थिए । हरेक वर्ष जुन १ मा अन्तर्राष्ट्रिय दुध दिवस मनाउँदै आईएको छ ।
उनीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नगद पुरस्कार सहित सम्मान गरे । प्रतियोगितामा प्रथमलाई ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ । द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वनालाई जनही १ हजार रुपैंया पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले विस्तारै दुध तथा दुग्धजन्य पदार्थको उपभोग बढ्दै गएको भन्दै यस्ता कार्यक्रमले दुधको खपत बढाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरमा जोड दिँदै त्यसका लागि दुग्ध उत्पादक किसान, संकलक, वितरक तथा डेरी व्यवसायीलाई गम्भिर बन्न आग्रह गरे ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले दुध के हो, दुधमा के छ ?, जस्ता कुराहरुको सन्देश प्रवाह गर्न सकियो भने त्यसले दुधको खपत बढाउने र व्यवसायिक विकास पनि हुने बताए । विद्यार्थी मार्फत दुधको उपयोगका बारेमा सन्देश दिनको लागि वक्तृत्वकला प्रतियोगिता गरिएको भन्दै उनले विद्यार्थीलाई यस्ता कार्यक्रममा सहभागि गराउँदै गर्दा भोलीका दिनमा उनीहरुमा उद्यमशिलताको विकास हुने पनि विश्वास व्यक्त गरे ।
कार्यक्रममा डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्याय, नेपाल दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख कृष्णप्रसाद अर्याल, लुम्बिनी प्रदेश सरकार पशुपंछी निर्देशनालयका पशु चिकित्सक लोकराज भुसाललगायतले दुधको महत्वका बारेमा चर्चा गरेका थिए ।