२०८२ जेष्ठ १९

ब्यापार संघको एक करोड ५८ लाख लगानीमा लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्रको स्थापना
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ १७, शनिबार ०८:३२ गते

बुटवल १७ जेठ ।
बुटवल स्थीत लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त संचार केन्द्रको स्थापना गरिएको छ । रुपन्देही व्यापार संघले रक्त संचार केन्द्र स्थापनाका लागि १ करोड ५८ लाख २० हजार रुपैया लगानी गरेको छ । पछिल्लो नया तथा आधुनिक प्रविधियुक्त उपकरण खरिदमा ब्यापार संघले लगानी गरेको हो । जर्मनमा निर्मित अत्याधुनिक मेसिनहरु जडान गरिएको र एकै पटकमा एक हजार युनिट (पोका( रगत संकलन गरी भण्डारण गर्न सक्ने क्षमता रहेको छ । ब्यापार संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले सामाजिक उत्तरदायित्व अन्तरगतको मेघा परियोजनाका रुपमा यसलाई अगाडी सारेर स्थापना गरिएको बताए ।
रक्त सञ्चार केन्द्रको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिवार गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्दै उनले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान समेत गरे ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको भन्दै निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने बताए । रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ, उनले भने ।
समुदायको क्षेत्रबाट रक्त सञ्चार केन्द्र स्थापना गर्न खेलेको भूमिकाको मुख्यमन्त्री आचार्यले प्रशंसा पनि गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला पक्ष, स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो ।