२०८२ जेष्ठ २३
बुटवल २१ जेठ ।
लुम्बिनी प्रदेशमा मनसुन जन्य विपद्का घट्ना बढ्दा वर्षेनी यहा धेरैले ज्यान गुमाउने गरेका छन् भने करोडौंको क्षति हुने गरेको छ । यस वर्ष सरदर भन्दा बढी वर्षाको अनुमान सगै विपदको उच्च जोखिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला रहेको पूर्वानुमान गरिसकिएको छ । उच्च जोखिममा रहेको लुम्बिनीमा दश वर्ष यताको तंथ्याक हेर्दा यहा दश वर्षमा ८ हजारभन्दा बढी परिवार प्रभावित भएको तंथ्याक छ ।
लुम्बिनी प्रदेशमा पछिल्ला दश वर्षमा मनसुनजन्य विपद्का १ हजार ६ सय १८ वटा घटना घटेका छन् । ती घटनामा ४ सय ५९ जनाको मृत्यु, ६ सय १९ जना घाइते, ३२ जना बेपत्ता र ८ हजार ३ सय १५ परिवार प्रभावित भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले बताए । उनका अनुसार २०७२ देखि २०८१ सालसम्मको १० वर्षको अवधीमा विपदबाट २ अर्ब ८३ करोड ५५ लाखको क्षती भएको छ । यहा गत वर्ष ९२०८१० मा मात्रै २ सय ९२ विपद्का घटनाहरू भएका थिए । ५३ जनाको मृत्यु र ९ जना वेपत्ता भएको तंथ्याक छ । यस प्रदेशमा मानवीय क्षतिको हिसाबले सबैभन्दा धेरै २०७३ सालमा १०७ जनाको ज्यान गएको थियो । त्यस वर्ष यहा ५ हजार १३ परिवार प्रभावित भएका थिए ।
गत वर्ष लुम्बिनी प्रदेशमा बाढी, पहिरो, भारी वर्षाका कारण ५३ जनाको मृत्यु, ७० जना घाइते, ९ जना बेपत्ता र १०९ परिवार प्रभावित भएका थिए । करिब ५४ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।
विपद् व्यावस्थापन परिषदको बैठक
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका ९देउखुरी० मा बुधबार प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न उक्त बैठकले मनसुनजन्य विपद्बाट लुम्बिनी प्रदेशलाई सुरक्षित बनाउन सबै पक्ष संवेदनशील र जिम्मेवार भई प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिए । अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरिएकाले उच्च सतर्कता आवश्यक भएको भन्दै उनले क्षति न्यूनीकरणमा ध्यान केन्द्रित गरी उच्च सतर्कताका साथ खटिन आवश्यक रहेको बताए । समुदायको परिचालनमार्फत मात्रै विपदबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ भन्दै उनले यस कार्यमा स्थानीय सरकार, सुरक्षा निकाय र स्वयंसेवक युवाहरुबीच समन्वय हुनुपर्ने बताए ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु, वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढा, नेपाली सेनाको नम्बर १९ बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति पदमबहादुर बुढा, नेपाल सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यवासिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुँवर, नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक जनार्दन जिसी, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका वरिष्ठ मौसमविद् वरुण पौडेलले यस वर्ष लुम्बिनी प्रदेशका पहाडी जिल्लामा अधिक वर्षाको सम्भावना रहेकाले त्यसअनुसार प्रभावकारी विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताएका थिए ।