२०८२ जेष्ठ २४
बुटवल २३ जेठ ।
रुपन्देही उद्योग संघले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ र २०८२।८३ को बजेटका बारेमा अभिमुखीकरण गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा शुक्रबार जानकारी गराइएको हो ।
कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटाले उद्योगी व्यवसायीलाई गरिएको अभिमुखीकरणले बजेट र आर्थिक विधेयकले सम्बोधन गरेका कुराहरुका बारेमा जानकारी हासिल गर्ने बताउँदै सम्बोधन भएका छुट सुविधाबाट लाभ लिन आग्रह गरे । उनले अहिले बजारमा नक्कली करदाता विजक समेत जारी हुने भएकाले त्यसप्रति सचेत र सजग रहन आग्रह गरे ।
अध्यक्ष सापकोटाले समग्रमा बजेटले धेरै विषयबस्तु समेटेको बताउँदै आफूहरुले उठान गरेका कुराहरु समेटिएकाले सकारात्मक रुपमा लिएको बताए । आर्थिक विधेयकमा समावेश भएका विषयहरु आम उद्योगी व्यवसायीलाई बुझाउन सकियो भने त्यसबाट उनीहरुले लाभ लिन सक्ने उनको भनाई थियो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष दिनेशराज रेग्मीले सरकारले ल्याएको आर्थिक विधेयक र बजेटमा समेत समावेश भएका विषयहरु विषयविज्ञबाट जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रति प्रसंसा गर्दै आर्थिक विधेयकमा कतिपय गहिरा र मसिना विषयहरु पनि हुने र त्यस्ता विषयमा जानकारी नहुँदा उद्योगी व्यवसायीले लाभ लिने कुरामा चुकिरहेको बताउँदै समयसान्दर्भिक रुपमा गरिएको कार्यक्रम लाभदायि हुने विश्वास व्यक्त गरे ।
आर्थिक क्षेत्रका विज्ञ नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान) रुपन्देहीका सचिव सिए सगुण खनालले कार्यपत्र प्रस्तुत गर्दै राजश्वका अन्य स्रोतहरुमा भएको व्यवस्था, आर्थिक विधेयक २०८२, करको दरमा भएको हेरफेर, आयकर, मुल्य अभिबृद्धि कर, अन्तशुल्क, भन्सार महशुल लगायतका नयाँ प्रावधानका विषयमा जानकारी दिएका थिए ।
संघका महासचिव हिरामणी भट्टराईको सञ्चालन मा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले धन्यबाद ज्ञापन गरेका थिए ।